
लन्डन ५ जनवरी २०२४ । बेलायतवासी गुरुङहरुको संस्था तमु समाज युकेले शनिबार ६ जनवरी २०२४ तमु (गुरुङ) हरुको महान् पर्व ल्होछार/ल्होसार मनाउँदै छ ।
हि ल्हो (बिरालो बर्ग) को बिदाइ र मुप्री ल्हो (गिद्ध बर्ग) को स्वागतका लागि विभिन्न कार्यक्रमसहित ल्होछार मनाउन लागिएको तमु समाज युकेले जनाएको छ । कार्यक्रम ह्यारो लेजर सेन्टरमा साँझ ५ बजेदेखि सुरु हुने छ । ल्होछार कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड वितरण, नयाँ सदस्यको स्वागत, सांस्कृतिक कार्यक्रमलगायत विविध आकर्षण रहने छ । कार्यक्रममा उपस्थितिका लागि तमुलगायत नेपाली बाआमा, दाजुभाइ, दिदीबहिनी सम्पूर्णमा निमन्त्रणा गरिएको छ ।
यसैबीच, तमु समाज युकेले तमु ल्होछार/ल्होसार अवसरमा स्वागत गीत सार्वजनिक गर्दैछ ।‘स्वागत गर्छौं अतिथिलाई’ बोलको उक्त गीत ‘तमु समाज युके’ युट्युब च्यानलबाट उक्त गीत प्रिमियर हुँदैछ । उक्त गीतमा आरके गुरुङ र अनिता गुरुङको मुख्य स्वर छ । साथै कोरसले साथ दिएका छन् । आरके गुरुङको संगीतमा तयार भएको गीतको एरेन्ज तथा मिक्सिङ तेजेन्द्र गुरुङको हो ।
सूर्य गुरुङले लेखेको गीतको भिडियो निर्देशन सरु गुरुङ रानाले गरेकी हुन् । गीतमा एक डेढ दर्जन कलाकारको मुख्य अभिनय छ ।






