एटा संवाददाता
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले नेपालको संघीय संसद्को प्रतिनिधिसभामा पेस भएको ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ सच्याउन सम्बिन्धत निकायको ध्यानाकर्षण गरेको छ ।
बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीमार्फत गत १५ अगस्ट बुधबारका दिन ७ बुँदे ज्ञापन पत्र बुझाउँदै एनआरएनए युकेले गैरआवासीय नेपालीलाई राजनीतिक बाहेकका अधिकारसहितको नागरिकता दिने नभएको वाक्यांश प्रयोग गरी नागरिकता ऐन संशोधन गर्न लागिएको भन्दै आपत्ति जनाएको हो । एनआरएनए युकेले गैरआवासीयलाई राजनीतिक अधिकारबाहेकका नागरिकता दिने हो भने बाँकी सबै नेपाली नागरिकसरह हुने भनी स्पष्ट व्यवस्था गर्न माग गरेको छ ।
त्यस्तै, बेलायतले बहुनागरिकता स्वीकार गरेकोले नेपालको नागरिकता परित्यागको प्रमाण पाउन असहज हुने भन्दै एनआरएनले गैरआवासीय नागरिकता पाउन नेपाली नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था सच्याउन पनि माग गरेको छ । यो व्यवस्था नसच्च्याए नेपालीहरुलाई नागरिकता लिन गम्भीर असर पर्ने सो संस्थाले ठहर गरेको छ ।
एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी र प्रवक्ता रमेशसिंह सराङ्गकोटीले हस्ताक्षर गरेको ७ बुँदे ज्ञापन पत्रमा एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, आईसीसी सल्लाहकार सुरेन्द्र श्रेष्ठ, एनआरएनए युकेका प्रमुख संरक्षक डमर घले एमबिईका साथै प्रवासी नेपाली मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी, नेकपाका नेता पूर्ण लक्सम, जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङ, अन्तर्रास्ट्रिय नेपाली समाजका अध्यक्ष चन्द्र गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष जंग सुनुवार र नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी मगरले समेत समर्थन जनाएका छन् ।








