नेपाली मेलाको तयारी पूरा, १० हजार दर्शक सहभागी हुने अपेक्षा

SHARE:

एटा संवाददाता
क्याम्पटन पार्क, लन्डन । नेपाली समुदाय बेलायतमा बहुप्रतिक्षित नेपाली मेलाको तयारी पूरा भएको आयोजक जनाएको छ । तमुधिं युकेले गत शनिबार १८ अगस्टका दिन क्याम्पटन पार्क, लन्डनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं मेला संयोजक हित काजी गुरुङले दसौं नेपाली मेलाको तयारी पूरा भएको जानकारी गराएका हुन् । मेला आउँदो २६ अगस्ट आइतबार हुनेछ ।

करिब १० हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको मेलाको विगत ३ महिनादेखि नै तयारी गरिएको संयोजक गुरुङले बताए । मेला व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि भन्दै उनको संयोजकत्वमा ६५ सदस्यीय मेला तयारी समिति गठन गरिएको थियो ।

तमुधिंले सन् २००९ देखि नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यअनुरुप ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका नेपाली मेला सम्पन्न गर्दै आएको छ । बेलायतमा रहेका नेपाली दूतावास लन्डनको साथ र सहयोग, नेपाली संघसंस्थाहरुको सहकार्य र हौसलाकै कारण मेला सहज रुपमा गर्दै आएको संयोजक गुरुङको भनाइ थियो ।

मेलामा बढीभन्दा बढी युवायुवतीको उपस्थितिका लागि भन्दै विगत केही वर्षदेखि युथहरुलाई २ घण्टा समय छुट्टयाउँदै आएको संयोजक गुरुङले बताए । उनले यसपटक नेपाली युवायुवतीहरुको ढुकढुकी अर्थात् दाजुभाइ व्यान्डको समेत विशेष प्रस्तुति रहने जानकारी दिए । मेलाले बेलायतस्थित नेपाली संघसंस्थाहरुबीचको सम्बन्ध बलियो पार्ने, नेपाली कला र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

मेलाको मुख्य आकर्षणको रुपमा रहेको झा“की तथा नृत्य प्रतियोगितामा उत्कृष्ट हुने संघसंस्थालाई नेपाली राजदूतावास लन्डनले सन् २०१० देखि प्रायोजन गर्दै आएको ‘एम्बासेडर कप’ र गतवर्षदेखि एनआरएनए युकेले दिँदै आएको ‘एनआरएनए युके कप’, मेडल, प्रमाणपत्र र ११ सय पाउन्ड नगद पुरस्कारद्वारा पुरस्कृत गरिनेछ । उपविजेता अर्थात दोस्रो स्थान प्राप्त गर्ने समूहलाई ७ सय पाउन्ड र तेस्रोलाई ५ सय पाउन्ड नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको संयोजक गुरुङले जानकारी दिए । त्यस्तै, नृत्यतर्फको प्रथमलाई ५०० पाउन्ड, दोस्रोलाई ४०० पाउन्ड र तेस्रोलाई ३०० पाउन्डको व्यवस्था गरिएको छ ।

गतवर्षदेखि सान्त्वाना स्वरुप ३ वटा झाँकी र २ वटा नृत्य समूहलाई २००/२०० पाउन्ड नगद र प्रमाण पत्र प्रदान गर्दै आएको समेत उनले बताए । उनकाअनुसार बेलायतस्थित नेपाली उद्यमी र व्यापारीहरुले विभिन्न पुरस्कार प्रायोजन गरेका छन् ।
नेपाली मेलाका लागि यसवर्ष अमेरिकाका नेपाली उद्यमी होप खड्का संस्थापक रहेको एक्सलट्रिप नामक व्यापारिक संस्थाले ५००० पाउन्ड आर्थिक सहयोग गरेको पूर्वअध्यक्ष मे.रि. डमर घले एमबिईले जानकारी गराए । करिब ३५ हजार पाउन्ड खर्च हुँदै आएको नेपाली मेलाका दर्शकहरुलाई प्रवेश शुल्क र कार पार्किङ्गबापत ५/५ पाउन्ड र बस पार्किङ्गको १० पाउन्ड शुल्क तोकिएको छ ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा मेला हुनेछ । मेलामा नेपाली दूतावास लन्डनको विशेष अनुरोधमा २० भन्दा बढी बेलायतस्थित विभिन्न राष्ट्रका राजदूत र कूटनैतिकज्ञलगायत करिब ३५० पाहुनाहरुको विशेष उपस्थिति रहने पाहुना संयोजक एवं चारभञ्ज्याङ्ग तमु समाजका अध्यक्ष मेजर कृष्ण गुरुङले जानकारी गराए ।

कार्यक्रममा संयोजक गुरुङले हालसम्म झाँकी तथा नृत्यका लागि २६ संघसंस्थाले नाम दर्ता गरिसकेको जानकारी दिए । वरिष्ठ उपाध्यक्ष नन्दजङ्ग गुरुङले ६ वटा रेस्टुरेन्ट, ३० वटा उद्यमी र व्यापारीहरुले स्टल बुक गरिसकेको भन्दै केही स्टलका लागि अझै पनि स्थान खाली रहेको जनाए । उनले स्टलका लागि तत्काल सम्पर्क गर्न पनि अनुरोध गरे । तमुधिं युकेका पूर्व अध्यक्षहरु, इकाई अध्यक्षहरु, आजीवन सदस्य र सल्लाहकारहरुको समेत विशेष उपस्थिति रहेको पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु मे.रि. डमर घले एमबिई, सुवाससिं गुरुङ, कमल गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, लन्डन इकाईका पूर्वअध्यक्ष दीपक (डेविड) गुरुङ, लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङ र बुद्धिष्ट कम्युनिटी सेन्टर युकेका अध्यक्ष ले.रि.नारायण गुरुङ बिईएमलगायतले मेलाबारे बोलेका थिए ।

अध्यक्ष ज्ञाम गुरुङले रोटरी इन्टरनेशनल क्लबले तमुधिं युकेले बनाइरहेको धादिङको विद्यालय सहयोगार्थ १० हजार अमेरिकी डलर सहयोग गर्ने वचन दिएको जनाए । उनले सहभागी सबै पत्रकारहरुलाई धन्यवादसहित बेलायतवासी नेपालीहरुलाई मेलामा उपस्थिति भइदिनहुन अनुरोध गरे ।

कार्यक्रममा तमुधिं आमा समूहकी महासचिव यशोदा गुरुङले नेपाली मेलामा आमाहरुले प्रवेशद्वार र खाजाको स्टलमा भूमिका निर्वाह गर्ने जानकारी दिइन् । तमुधिं युकेको निमन्त्रणामा नेपालबाट आएकी सञ्चारकर्मी एवं नायिका पुनम गुरुङलगायत उपस्थित पत्रकारहरुलाई अध्यक्ष गुरुङ तथा आमा समूहकी अध्यक्ष प्रेमाकुमारी गुरुङले खादा लगाई स्वागत गरेकी थिइन् । नेपाल पत्रकार महासंघ बेलायतको तर्फबाट सचिव शिव भण्डारीले पनि सञ्चारकर्मी गुरुङलाई खादा लगाई स्वागत गरे । सो अवसरमा गतवर्षको एम्बासेडर कप विजेता लमजुङ समाज युकेले सो कप तमुधिं युकेलाई बुझाएका थिए ।

तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष नन्दजङ्ग गुरुङले स्वागत मन्तव्य र मिडिया सेक्रेटरी रोहित गुरुङले पत्रकारहरुको परिचय गराएका थिए भने महासचिव कृष्ण गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!