लन्डन २८ जनवरी २०२४ । ताप्लेजुङको मुकुम्लुङस्थित सेमुक्तु मुक्तुफोमा युमामाङ (पाथीभरा) को थानलाई लक्षित गरी निर्माण गर्न लागिएको केबुलकारको विरुद्धमा हुँदै आइरहेको आन्दोलनलाई लिम्बुवान नागरिक समाज युकेले समर्थन जनाएको छ ।
अध्यक्ष छत्र वनेम र सचिव लाहाङ चेम्जोङले २२ तारिख सोमबार संयुक्त रुपमा विज्ञप्त प्रकाशित गरेर केबुलकार बन्नु विकास जस्तो देखिए पनि यो कदमले मुकुम्लुङको धार्मिक सत्व र वातावरणप्रति प्रतिकूल असर पार्ने जनाउँदै आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेका हुन् । ‘यो क्षेत्र याक्थुङ लिम्बुहरुको मुन्धुमअनुसार सर्वोच्च देवता युमामाङको मिथकसँग जोडिएको मुन्धुमी स्थल भएकोले यो क्षेत्रलाई प्राकृतिक अवस्थामा रहन दिनुपर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
पहिचान र लिम्बुवानको पक्षमा निरन्तर राजनीतिक तथा बौद्धिक नेतृत्व गर्दै आइरहेको लिनास युकेले विज्ञप्तिमार्फत भनेको छ, ‘यो क्षेत्रलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारले पहल गर्नुपर्दछ । तर, दलाल पॅुजीपतिहरुको प्रभावमा परेर रैथाने पहिचान, धर्म र संस्कृतिलाई ध्वंस गर्न सरकार उद्वत रहेकोले यो पवित्र मुन्धुमी स्थल र त्यहाँको वातावरणलाई बचाउन लिम्बुवानी नागरिकहरुलाई आन्दोलित हुन आव्हान गरेको छ । साथै, यो पवित्र स्थललाई केबुलकार मुक्त बनाई मुन्धुमी स्थल, धार्मिक स्थल र प्राकृतिक अवस्थामै बचाई राख्न गरिने जस्तोसुकै आन्दोलनमा समर्थन र भौतिक सहयोग रहने घोषणा गर्दछौं ।’







