लन्डन । माओवादी केन्द्रका नेता सुरेश आलेमगरले सबै मगरहरुको साझा मगरातको सपना प्राप्तिका लागि जिन्दगीभर लडिरहने प्रतिबद्धता जनाएका छन् ।
मगर संघ युकेले आफ्नै भवनमा आइतबार आयोजित अन्तरक्रियामा नेता आलेमगरले थुप्रै पटक बलिदानी भए पनि मगरहरुको समस्या सम्बोधन नभएको भन्दै मगरातका लागि मगरहरुको साथसाथै रहने बताए । नेपालमा संविधान बन्दा आफूहरुको मुद्दा सम्बोधन हुनुको साटो छियाछिया पारिएको उनको टिप्पणी थियो । उनले मगरात र अधिकारका लागि चर्को आवाज उठाउनु पर्ने जरुरी रहेको भन्दै त्यसका लागि बेलायतमा रहेका मगरहरुले बढी भूमिका खेल्ने अपेक्षा राखेको बताए ।
नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव समेत रहेका नेता आलेमगरले नेपालको आदिवासी जनजाति आन्दोलनमा पनि मगरहरुको अग्रणी भूमिका रहेको उल्लेख गरे । उनले भने, ‘नेपालमा आदिवासी जनजाति महासंघ जो बन्यो त्यसमा मगरहरुको अग्रणी भूमिका छ । त्यस्को संस्थापक महासचिव म नै हुँ । त्यति हुँदाहुँदै पनि हामी पछाडि परेका छौं, हामीलाई पछाडि पारिएको छ ।’ सो अवसरमा आलेमगरलाई मगर संघ युकेले सम्मान पनि गरेको थियो । सम्मानका लागि धन्यवाद दिँदै मगर संघले आफ्नै भवन किनेकोमा उपलब्धि भएको उनले बताए ।
पूर्वसभासद् मगरले ब्रिटिस गोर्खाहरुको माग सम्बन्धन गर्न गठित प्राविधक समितिमा मगरको प्रतिनिधित्व नभएकोमा गुनासो पोखेका थिए । ‘यतिखेर खड्किरहेको विषय, मैले टेक्निकल कमिटीको रिपोर्ट हेरँ, सरसर्ती पढेँ त्यो कमिटीमा कोही पनि मगर हुनुहुँदोरहेनछ । त्यो किन हो’ उनले भने, ‘उनीहरुले नै गरेर हामीलाई पछाडि पारे अथवा त्यो कमिटीमा हामी सक्रिय सामेल भएनौं । टेक्निकल कमिटीमा मगर नहुँदाको विषयले मलाई अलि छोयो ।’
उनले थपे, ‘विभिन्न लडाइँमा पनि उत्कृष्टता र भीसी पाउनेमा नै हामी नै छौं । त्यति हुँदाहुँदै नेपालमा पनि पछाडि छौं र यहाँ बेलायतमा पनि पछाडि हुनु ठूलो कुरा होइन । यति हुँदा हुँदै हामी अगाडि बढ्नुको विकल्प छैन ।’ कार्यक्रममा नेपालको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।
कार्यक्रममा मगर संघ युकेका अध्यक्ष नेम थापा, निवर्तमान अध्यक्ष एवं पत्रकार दुत पुन, उपाध्यक्ष अनिता थापा मगर लगायतको उपस्थिति थियो । 






