लन्डन २ फेब्रुअरी २०२४ । तामाङ समुदायको साँस्कृतिक पर्व ल्होछार (नयाँ वर्ष) को कार्यक्रममा सहभागी हुन चर्चित गायक विश्व दोङ बेलायत आइपुगेका छन् ।
तामाङ समाज युकेका अध्यक्ष कुमार लामाको निमन्त्रणमा गायक दोङ शुक्रबार बिहान बेलायतको राजधानी लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएका हुन् । गायक दोङलाई तामाङ समाज युके, तामाङ घेदुङ युके र म्हेन्दोमाया समाज युकेका प्रमुख तथा प्रतिनिधिले विमानस्थलमा डम्फू र ब्यानरसहित स्वागत गरे ।
उनले ३ फेब्रुअरीमा आयोजना गर्ने ल्होछार कार्यक्रममा प्रस्तुति दिने कार्यक्रम छ । त्यससँगै १७ फेब्रुअरीमा पनि तामाङ सोसाइटी अफ युकेले आयोजना गर्ने कार्यक्रममा विश्वको प्रस्तुति रहनेछ ।
काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका-८ का गायक दोङको स्ह्यार री केसइ याङ तामाङ, घुम्दै फिर्दै, कहाँ पर्यो घर, डम्फू साँझमा, ल्होछार मेला लगायत दर्जनौं गीत लोकप्रिय छन् । वि सं २०५६ सालदेखि विशेष गरी तामाङ मौलिक गीत संगीतमा लागिरहेका दोङले हालसम्म हजारभन्दा बढी गीत गाइसकेका छन् ।
गायक दोङ यही फेब्रुअरी २६ तारिखसम्म बेलायतमा रहनेछन् ।







