नेपाल–आयरल्यान्ड मैत्री दिवस सम्पन्न

SHARE:

एटा संवाददाता
लन्डन । नेपाल र आयरल्यान्डबीच दौत्य सम्बन्ध स्थापनाको २०औं वर्ष शुभारम्भको सुखद् उपलक्ष्यमा आयरल्यान्डको राजधानी डव्लिनमा नेपाल–आयरल्यान्ड मैत्री दिवस सम्पन्न भएको छ ।

आयरल्यान्डका राष्ट्रपति माइकल डी. हिगिन्सले प्रमुख अतिथिका रुपमा विशेष समारोहलाई सम्बोधन गर्दै भौगोलिक रुपमा आयरल्यान्ड र नेपाल टाढा रहेपनि दुई मुलुकको कला, साहित्य, संगीत, संस्कृति र प्रकृतिको समृद्धि एवं शान्ति, मैत्री, भातृत्व र विश्व–वन्धुत्वप्रतिको समान आस्थाका कारण नजिक रहेको बताए । आयरल्यान्ड र नेपालले एकै दिन संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेका हुन् भन्दै राष्ट्रपति हिगिन्सले विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरुमा हाम्रो साझा धारणा रहेको र संयुक्त राष्ट्रसंघको तत्वावधानमा यी दुई मुलुकले विश्वमा शान्ति स्थापना गर्न आआफ्ना सैनिकहरु परिचालन गरिरहेको बताए ।

सन् २०१५ मा नेपालमा जारी भएको संविधान लोकतान्त्रिक, समावेशी र विधिको शासनका मूल्य र मान्यताहरु समाहित विश्वकै एक उत्कृष्ट संविधान भन्दै उनले गतवर्ष शान्ति र निष्पक्षतापूर्वक सम्पन्न आमनिर्वाचनले नेपालमा राजनैतिक स्थायित्व हासिल भई आर्थिक विकासको निम्ति मार्ग प्रशस्त भएको बताए ।

विशिष्ट अतिथिका रुपमा समारोहलाई सम्वोधन गर्दै आयरल्याण्ड–नेपाल फ्रेन्ड्रसीप गुप्रका संयोजक आइरिस सांसद श्रीमती मरिन ओ सुलिभानले आयरल्यान्ड र नेपालबीचको सम्बन्ध सरकारी सम्वन्धका साथसाथै संसदीय स्तरमा समेत विस्तारित भएको बताए । नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल र आयरल्यान्डबीच दौत्य सम्बन्ध स्थापना भएको बीसौं वर्ष प्रवेश गरेको शुभ र सुखद उपलक्ष्यमा आयरल्यान्डका राष्ट्रपतिको समुपस्थितिले आफूहरुलाई हर्षित र गौरवान्वित तुल्याएको बताए । उनले यसबाट नेपाल र नेपाली जनताप्रति आयरल्यान्ड र आइरिस जनताको स्नेह, सम्मान, र आत्मीयताको प्रतिबिम्व प्रस्तुत भएको बताए । समारोहमा आयरल्यान्डका राष्ट्रपति डी. हिगिन्सले राजदूत डा. सुवेदीद्वारा अनुवादित तथा सम्पादित ‘सुप्रसिद्ध आइरिस कवि माइकल डि. हिगिन्सका प्रतिनिधि कविता’ नामक कवितासंग्रहको लोकार्पण गरेका थिए ।

समारोहमा आयरल्याण्डमा रहेर नेपाली भाषा, साहित्य, कला, संगीत, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्धन एवं नेपाली समुदायको एकता र भातृत्व अभिवृद्धिका लागि उल्लेखनीय योगदान गर्ने आठ जना अग्रज समाजसेवी नेपालीहरु दीपेशमान शाक्य, गणेश प्रसाई, गंगाराम कँडेल, जीवन तिमिल्सिना, कृष्णकुमार डंगोल, नवराज कोइराला, राजेन्द्र काफ्ले र शारदा खत्री प्याट्रिक्यूलाई राष्ट्रपति हगिन्स र नेपाली राजदूत सुवेदीले सम्मान गरे ।

समारोहमा स्थानीय नेपाली कलाकारहरुले नेपाली कला र संस्कृति झल्कने सातबटा नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा आइरिस संसदका सदस्यहरु, पूर्वमन्त्रीहरु, आयरल्यान्डका सर्वोच्च न्यायालयका न्यायाधीश, नगरप्रमुखहरु, आयरल्याण्डस्थित विभिन्न मुलुकका राजदूत एवं कूटनैतिक प्रतिनिधिहरु, नेपालका लागि युरोपियन युनियनका राजदूत, आइरिस सरकारका उच्च पदस्थ पदाधिकारीहरु, गैरआवासीय नेपाली संघ, आयरल्यान्डका अध्यक्ष तथा पदाधिकारीहरु, नेपाल आयरल्यान्ड सोसाइटीका अध्यक्ष तथा पदाधिकारीहरु, सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आइरिस पर्वतारोहीहरु एवं नेपालमा सञ्चालितआइरिस गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु गरी तीन सयभन्दा बढी अतिथिहरु सहभागी थिए । कार्यक्रम दूतावासका तृतीय सचिव भूपेन्द्रप्रसाद घिमिरेले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!