लन्डन २९ फेब्रुअरी २०२४ । तमु समाज यूकेको युवा समूहले लन्डनमा आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगितामा फेल्थाम एफसीले विजेता बनेको छ ।
शनिबार लन्डन सडबरीस्थित भेल फार्म स्पोर्टस् सेन्टरमा भएको फुटबल फाइनल प्रतियोगितामा हेज एफसीलाई हराउँदै फेल्थाम एफसी विजेता बनेको हो । प्रतियोगितामा विजेता टिम फेल्थाम एफसीले २०० पाउण्ड नगद पुरस्कारका साथै ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता टिम हेज एफसीले १०० पाउण्ड नगद पुरस्कार प्राप्त गर्यो ।
फेल्थाम एफसीका सुदीप गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए भने हेज एफसीका स्माइल नेपाली सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता दुवैलाई ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितापछि खेलाडी र समर्थकहरु बरहाम पार्क वेम्बलीस्थित तमु समाज यूके कम्युनिटी सेन्टरमा भेला भएका थिए । सोही अवसरमा विजयी टोलीलाई पुरस्कार वितरण गरियो ।
प्रतियोगितामा ८ टोलीले उत्साहपूर्वक भाग लिएका थिए । प्रतियोगितामा लिग र नकआउट हुँदै फाइनल खेल भएको थियो । तमु समाज यूकेका महासचिव धर्मवल गुरुङले विजेता र उपविजेता टिमलाई पुरस्कार प्रदान गरे । प्रतियोगिताको ट्रफी र मेडल प्रायोजन रारा क्याटरर्सका प्रोप्राइटर प्रताप रायमाझी तथा नगद पुरस्कार प्रायोजन तमु समाज यूके आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङ र तमु समाज यूके अध्यक्ष शिवकुमार गुरुङले गरेका थिए ।
पुरस्कार वितरणपश्चात् महासचिव गुरुङले प्रतियोगिता सफल गर्न सहयोग गर्ने सबै टिमका खेलाडी, स्वयंसेवक, समर्थक र प्रायोजकहरुप्रति आभार व्यक्त गरेका थिए । उनले युवा समूहका अध्यक्ष ओमकार गुरुङ र उपाध्यक्ष प्रज्ज्वलमान गुरुङले लन्डन वरपरका युवाका लागि फुटबल प्रतियोगिता आयोजना गरेकोमा विशेष धन्यवाद दिए । तमु समाज यूकेले खेल र सामुदायिक भावनामार्फत युवालाई सहयोग र थप सशक्तिकरणमा साथ दिंदै आएको छ ।
फुटबल प्रतिययोगिताको फोटोग्राफी समाजका युवा सदस्य टेक गुरुङले गरेका थिए ।






