
लन्डन १६ मार्च २०२४ । धरानका मेयर हर्क साम्पाङ राईको पहलमा निर्माण हुन लागेको सुम्निमा-पारुहाङको प्रतिमाका लागि किरात राई यायोक्खा बेलायतले एक लाख सहयोग गरेको छ ।
चन्द्रबहादुर राई अध्यक्ष रहेको किराया बेलायत संघीय कार्यसमितिले धरानको चिन्नेडाँडामा निर्माण गरिन लागेको सो प्रतिमाका लागि सहयोग उपलब्ध गराएको हो । धरानमा आयोजित एक कार्यक्रममा मेयर साम्पाङलाई सो सहयोग हस्तान्तरण गरियो ।
हस्तान्तरण पत्रमा यायोख्याले सुम्निमा-पारुहाङको प्रतिमा निर्माण हुन लागेको खबरले बेलायतवासी किरात राई र गैरकिरातमा हर्ष छाएको बताइएको छ । साथै मेयर राईको कार्यमा ऐक्यबद्धता पनि प्रकट गरेको छ ।
सो अवसरमा मेयर राईले यसरी प्राप्त सहयोगले काम गर्न प्रोत्साहन मिलेको बताए । प्रतिमाले बिर्सिएको इतिहासलाई पुनर्ताजगी गराउने विश्वास पनि मेयर राईले व्यक्त गरे ।
उनले अहिलेसम्ममा सो प्रतिमाका लागि एक करोडभन्दा बढी सहयोग उठिसकेको पनि जानकारी दिए ।






