
जयराम तामाङ
लन्डन १७ मार्च २०२४ । राहदानी नवीकरणका लागि नेपाली दूतावास लन्डनको घुम्ती टोली सुइन्डनमा पुगेको छ ।
राहदानी नवीकरण कार्यक्रम सुइण्डनस्थित द काउ ब्याङ्क्वेटिङ हलमा यही मार्च १६ तारिख शनिबार भव्यताका साथ सम्पन्न भएको छ । राहदानी नवीकरणमा वृद्ध/वृद्धाहरुलाई सहज होस् भन्ने हेतुले नेपाली समाज विल्टसायरको अनुरोधमा उक्त कार्यक्रम आयोजना गरिएको दूतावासका द्वितीय सचिव रामबाबु नेपालले एभरेस्ट टाइम्सलाई जानकारी दिए । टोलीमा नेपाली राजदूतावास लन्डनका द्वितीय सचिव रामबाबु नेपालको साथमा कार्यालय सचिव धनबहादुर बोहोरा, विक्रम श्रेष्ठ, सहकार्यालय सचिव गोविन्द सुन्दास र चालक राजकुमार गिरी थिए ।
सुइन्डनमा बसोबास गर्ने करिब दुई सय २० जना नेपालीहरुले राहदानी नवीकरण गरेको नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञान गुरुङले बताए । राजदूतवास जानलाई झन्झटिलो र खर्चिलो अनि पुरै दिन लगाएर जानु पर्ने भएकोले आफ्नै ठाउँमा राहदानी नवीकरण गर्नु पाउँदा सबै जनाले नेपाली समाज विल्टसायरका पदाधिकारीहरु र राजदूतावासका कर्मचारीहरुप्रति धन्यवाद व्यक्त गरे ।
भूतपूर्ब नेपाली गोर्खा ब्रिटिस आर्मीहरुको बाक्लो बस्ती रहेको सुइन्डनमा यो भन्दा पहिला पनि नेपाली राजदूतावास लन्डनले धेरै पटक यस्तै किसिमको सुविधाहरु दिँदै आइरहेको छ । भर्खरै मात्र सुरु गरेको द काउ बाङ्केटिङ्ग हल सुइन्डन टाउन सेन्टरमा रहेको र वृद्धहरु पनि सजिलै पुग्न सक्ने र करिब सात सय जति मानिसहरु अटाउने क्षमता भएकोले त्यो ठाउँमा कार्यक्रम आयोजना गरेको अध्यक्ष गुरुङले बताए ।
नेपाली समाज विल्टसायरका विभिन्न पदाधिकारीहरु र राजदूतावासका कर्मचारीहरुको लागि खाजापानीको व्यवस्था द काउका संचालकहरुले नि:शुल्क रुपमा गरेको संचालक ह्यानसन गौचनले बताए ।

कार्यक्रमको अन्त्यमा पूर्व कानुनमन्त्री तथा सेक्रेटरी अफ स्टेट फर वेल्सका रोबर्ट बक्ल्यान्डले राजदूतावासका कर्मचारीहरुलाई प्रशंसा पत्र दिएका थिए ।






