गोर्खाको समस्या समाधान गर्न कुनै कसर बाँकी राख्दिनँ : परराष्ट्रमन्त्री श्रेष्ठ

SHARE:

काठमाडौं २१ मार्च २०२४ ।


गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर भूतपूर्व गोर्खाको समान पेन्सन माग सम्बोधनको अन्तिम मौका नगुमाउन अनुरोध गरेको छ ।

बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खा प्रतिनिधिबीच मार्च २७ मा लन्डनमा हुन लागेको त्रिपक्षीय वार्ताको पूर्व सन्ध्यामा गेसो सभापति कृष्णकुमार राई, सांसद सुदन किराती सहितको टोलीले बिहीबार परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरी भूतपूर्व गोर्खामाथि भएको असमानता, भेदभाव र अमानवीय व्यवहार सदाका लागि अन्त्य गर्ने अन्तिम मौका नगुमाउन अनुरोध गरेको हो ।

विभिन्न चरणमा भएका वार्ता ठोस निष्कर्षमा पुग्न नसकेको स्मरण गराउँदै आसन्न त्रिपक्षीय वार्ता अगाडि नेपाल सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिबीच छलफल गरी अन्तिम अजेन्डा पेस गर्न पनि अनुरोध गरेको छ ।

सो क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले गोर्खाको समस्या राष्ट्रकै समस्या भएको हुनाले समाधानका लागि आफू गम्भीर रहेको बताए । ‘अहिले म सम्बन्धित मन्त्रालयको मन्त्रीको हैसियतले समस्या सदाको लागि हल गर्न गम्भीर भएर लागिरहेको छु,’ उनले भने, ‘यसबारे सम्बन्धित सरकारसँग कुरा भइरहेको छ ।’ गोर्खाको समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता जाहेर गरे ।

भेटमा गेसो उपसभापति जितबहादुर राई, उपमहासचिवद्वय बुद्धिराज राई र मानबहादुर गुरुङ, माओवादी केन्द्रका युवा नेता वसन्त राई पनि सहभागी थिए ।
यसैबीच, गेसोले नवनियुक्त पर्यटनमन्त्री हितबहादुर तामाङलाई बेग्लै भेटेर बधाई दिँदै गोर्खा मुद्दाबारे अपडेट गराएको छ । मन्त्री तामाङले आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता पनि व्यक्त गरेको गेसोले जनाएको छ ।

गत शुक्रबार पनि जीटेन समूहका प्रतिनिधिहरूले लन्डनस्थित नेपाली दूतावासमा बेलायतसमक्ष कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरेका थिए । २७ मार्चको त्रिपक्षीय वार्तामा कसरी प्रस्तुत हुने र बेलायतले राखेका जिज्ञासामा कसरी तार्किक जवाफ दिने भन्ने सम्बन्धमा छलफल भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!