लण्डन २३ मार्च २०२४ ।

बेलायतकी राजकुमारी क्याथरिनले आफू क्यान्सरको उपचार गराइरहेको खुलासा गरेकी छन् ।
शुक्रबार एक भिडियो सन्देशमा उनले परीक्षणमा क्यान्सर पत्ता लागेपछि हाल उपचारको प्रारम्भिक चरणमा रहेको बताएकी छन् । बीबीसीले पोष्ट गरेको भिडियोमा क्याथरिनले भनेकी छन् ‘कठिन दुई महिनापछि अविश्वसनीय रूपमा यो समाचार ‘ठूलो झटका’ थियो ।’तर, उनले आफू ठीक रहेको र हरेक दिन बलियो हुँदै गएको सकारात्मक सन्देश पनि दिएकी छन् ।
प्रिन्सेस अफ वेल्सलाई कस्तो क्यान्सर हो भन्ने विवरणहरू खुलाइएको छैन् तर केन्सिङ्टन प्यालेसले राजकुमारी पूर्ण रूपमा निको हुनेमा विश्वस्त रहेको बताएको छ । ४२ वर्षीया राजकुमारीले गत जनवरीमा पेटको शल्यक्रिया गर्दा क्यान्सर भएको थाहा नभएको बताएकी छन् । ‘यद्यपि शल्यक्रियापछिको परीक्षणमा क्यान्सर भएको पाइयो। त्यसैले मेरो चिकित्सकीय टोलीले मलाई निरोधात्मक केमोथेरापीको कोर्स गराउनुपर्ने सल्लाह दियो र म अहिले त्यो उपचारको प्रारम्भिक चरणमा छु’, राजकुमारीले भनिन् ।
फेब्रुअरी अन्त्यमा उनको केमोथेरापी उपचार सुरु भएको बताइएको छ । ‘मेरो साथमा विलियम हुनु भनेको सान्त्वना र आश्वासनको ठूलो स्रोत हो’, उनले शुभचिन्तकहरूलाई पनि धन्यवाद दिँदै भनेकी छन् । आफैं क्यान्सरको उपचार गराइरहेका राजा चार्ल्सले आफ्नी ‘प्रिय’ बुहारीको साहस गर्व गर्न लायक भएको बताएका छन्। उता, बेलायती प्रधानमन्त्री ऋषि सुनकले केटले ‘अथाह बहादुरी’ देखाएको र उनलाई पूरै देशको माया र समर्थन रहेको उल्लेख गरेका छन् ।
बेलायती राजा चार्ल्सले पनि गत महिनादेखि क्यान्सरको उपचार गराइरहेका छन् ।






