
जयराम तामाङ
लन्डन ८ अप्रिल २०२४ । स्वीइन्डनमा बसोबास गर्ने नेपालीहरुले नयाँ वर्ष २०८१ लाई भव्यताका साथ मनाएका छन् ।
यही अप्रिल ७ तारिख आइबार स्वीइन्डनस्थित पन्जाबी कम्युनिटी हलमा नेपाली समाज विल्टशायर बेलायतको आयोजनामा भएको कार्यक्रममा नेपालबाट आएकी लोक तथा दोहोरी गायिका निर्जला गुरुङको दमदार प्रस्तुतिसहित नेपाली नयाँ वर्ष २०८१ मनाइएको हो । नेपालीहरुले नयाँ साल सुरु हुन केही दिन बाँकी छँदै २०८० साललाई बिदाइ गर्दै २०८१ साललाई स्वागत गरेका छन् ।
नेपालबाट आएकी चर्चित लोकदोहोरी गायिका निर्जला गुरुङको दमदार प्रस्तुतिले धेरै जना महिला, पुरुषलाई नचाउन बाध्य पारिएको थियो । गायिका निर्जलाले गीत गाउन थालेपछि प्राय: सहभागी उठेर उनको टाउकोमा पैसा सिउर्याउँदै तँछाडमछाड गर्दै नाचेका देखिन्थे ।

स्थानीय कलाकारहरुले पनि विभिन्न प्रस्तूति दिएका थिए भने गंगा भण्डारीले नयाँ वर्षको शुभकामना सन्देश कवितामार्फत दिएका थिए । नेपाली समाज विल्टशायर बेलायतका अध्यक्ष ज्ञानप्रसाद गुरुङको अध्यक्षता, मन्त्री रोबर्ट बक्ल्यान्डको प्रमुख आतिथ्यतामा सम्पन्न नयाँ वर्षको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्ष रन्जन मल्लले स्वागत मन्तव्य दिएका थिए भने सचिव जेनिसा थापाले संचालन गरेकी थिइन् ।
प्रमुख अतिथि मन्त्री रोबर्ट बक्ल्यान्ड, अध्यक्ष ज्ञानप्रसादलगायतले नयाँ वर्ष २०८१ को शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम सफल बनाउन रकेट मोर्गेज, वोर्ल्ड रेमिट, यति होम्स स्टेट, मम किङ्ग, ग्रेसी ज्वेलर्स स्वीइन्डन, राजेश दाइ ग्रोसरी चिपेन्हाम, क्याबेन्डिस स्क्वाएर ग्रोसरी स्टोरले प्रायोजन गरेको आयोजकले जनाएको छ । सबै प्रायोजकहरुलाई प्रमुख अतिथि मन्त्री रोबर्ट बक्ल्यान्डद्वारा खादा र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न राफल चिट्ठा पनि रखिएको थियो । प्रथम हुनेलाई आधा तोला सुन, द्वितीय हुनेलाई १ सय ५० पाउन्ड र तृतीय हुनेलाई १०० पाउन्ड नगद पुरस्कार राखिएको थियो ।








