
काठमाडौँ १६ अप्रिल २०२४ । सरोकारवालाहरुले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा साथ राख्न सरोकारवालाले माग गरेका छन् ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले आज आयोजना गरेको छलफलमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशो कान्ति भट्टचन(गौचन)ले आदिवासी जानजाति महिलाका विषय प्राथमिकतामा राख्न सुझाव दिइन् । आदिवासी महिला तथा किशोरीको अधिकार सम्बन्धमा संयुक्त राष्ट्र सङ्घीय महिलाविरुद्ध हुने भेद्भाव उन्मुलन समिति(युएन सिड कमिटी) आधारभूत सिफारिस नं ३९ सम्बन्धमा धारणा राख्ने क्रममा उनले महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धी (सिड) सिफारिस राज्यपक्षीय विधायिका, नीति निर्माण गर्ने तह तथा सम्बन्धित सबैलाई मार्ग निर्देशनको रुपमा रहेको बताइन् । नयाँ विधेयक बनाउँदा वा मस्यौदा विधेयकमा संशोधन गर्दा सिडको सिफारिसँग मिल्ने गरी बनाउने आधार वा मार्गनिर्देशनको रुपमा प्रयोग गर्न उनले सुझाव दिईन् ।
मञ्चकी अध्यक्ष सुनी लामाले आदिवासी जनजाति महिला हरेक क्षेत्रमा पहुँचभन्दा बाहिर रहेको र उनीहरुको अधिकारको सुनिश्चितता हुनुपर्ने धारणा राखिन् । उनले आदिवासी महिलाको अधिकार दाबी गर्न सिडको सिफारिस कार्यान्वयनको सम्बन्धमा सांसदहरुको दायित्व रहेको बताइज् । सांसद रोशन कार्कीले प्रवासमा जाने महिला कामदार बढी शोषित भइरहेका र उनीहरुको विषयमा पनि आवाज उठाउनुपर्ने बताइन । उनले अन्तरजातीय विवाहले संस्कृति हराउँदै गएको हो की भन्ने चिन्ता प्रकट गरिन् ।
सांसद शान्ति विकले आदिवासी जनजाति महिला मात्र होइन सबै महिला पीडित रहेको जिकिर गरिन् ।






