लन्डन ३० अप्रिल २०२४ । बेलायतमा हुने दुई मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भीसा नआएको विषयमा युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटवल संघ एन्फाका महासचिवसँग आज छलफल भएको छ । भीसा ढिलाईको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव राईले आज रातिसम्म भीसा आउने बताए । भीसा लिनकै लागि भारतको दिल्लीमा पठाएको पनि महासचिव राईले जानकारी गराए ।
एन्फाले मैत्रिपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको र सोमबार स्वीकृती दिएको सदस्य सचिव टंकलाल घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराए । यस बाहेक ५ जना एन्फा भीआइपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतिको लागि परिषदमा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पारे।
यस विषयमा एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्वीकृती लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृती नलिएको जिकिर गरे। उनले बाँकी २० जना आफ्नै खर्चमा जाने पनि बताए । तर एन्फाले उनीहरूको भीसाको लागि बेलायती राजदूतावासमा भीसाको लागि सिफारिस गरेको पनि बताए।
राष्ट्रिय खेलकुद ऐेन अनुसार खेलाडी पदाधिकारी सबैले स्वीकृति लिनुपर्ने व्यवस्था भएको सदस्य सचिव घिसिङले बताए। सोही बमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत आउनको लागि राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिनुपर्ने निर्णय युवा तथा खेलकूदमन्त्री विराजभक्त श्रेष्ठले गरेका छन। स्वीकृती नलिएसम्म हालको लागि १५ पदाधिकारीहरू बेलायत जान पाउने छैनन्।
युवा तथा खेलकुद मन्त्रालयले परिषद्को स्वीकृतिबिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाएको छ।






