लन्डन ९ मे २०२४ । समाजसेवी एवम् व्यवसायी सूर्य गुरुङद्वारा सञ्चालित गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नबरोको २५ औं वार्षिकोत्सवमा संकलित ५ लाख रुपैयाँ मानवसेवा आश्रम नेपाललाई सहयोग गरिएको छ ।
मानवसेवा आश्रमको भवन निर्माण परियोजनाअन्तर्गत एक कोठा निर्माणको लागि आवश्यक उक्त रकम उनले सहयोग गरेका हुन् । मानवसेवा आश्रम सहयोगार्थ गतसाता बेलायतको क्याम्बर्लीमा आयोजित आनी छोइङ च्यारिटी कन्सर्टका अवसरमा सहयोगका लागि गुरुङ दम्पतीलाई राजदूत ज्ञानचन्द्र आचार्यले सम्मान गरेका थिए ।
रेष्टुरेन्ट वार्षिकोत्सवका अवसरमा हरेक वर्ष च्यारिटी गर्दै आएका गुरुङले जन्मभूमि र कर्मभूमि दुवैतिर सहयोग गरेका छन् । नेपालमा शैक्षिक, खेलकुद, स्वास्थ्य आदि क्षेत्र र बेलायतमा विभिन्न च्यारिटी संस्थालाई उनले सहयोग प्रदान गरेका छन् । एनआरएनए यूकेका पूर्वअध्यक्षसमेत रहेका गुरुङ बेलायतको नेपाली समुदायमा ‘च्यारिटी किङ’ उपनामले चिनिन्छन् ।
उनले आफ्नो नेतृत्वमा कयौं सामाजिक एवम् परोपकारी अभियानमा समेत १० करोड बढी कोष संकलन गराएका छन् ।






