नगेन्द्रराज नेम्वाङ
अल्डरसट । बेलायतमा क्रियाशील सेवारो कलाकार संघ युकेले कलाकारहरुलाई सम्मान गरेको छ ।
गत २५ अगस्ट शनिबारका दिन अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा उनीहरुलाई सम्मान गरेको हो । नेपालबाट आएका चर्चित गायक दिपक लिम्बू, प्रनेश लिम्बू, तारा लक्सम र ब्रबिन शेर्मालाई प्रशंसा पत्र र नगदसहित खादा ओढाई सम्मान गरिएको हो ।
सेवारो कलाकार संघ युकेका अध्यक्ष दुर्गा पाङ्मा र किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष एवं प्रमुख अतिथि डिलसिं मेन्याङ्बोले संयुक्त रुपमा दिपप्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
विभिन्न कलाप्रेमीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सम्मानित कलाकारहरुले विभिन्न नेपाली तथा लिम्बू भाषाका चर्चित गीतहरु प्रस्तुत् गरेका थिए । त्यस्तै कार्यक्रममा संकलन भएको ३७५ पाउन्ड किरात याक्थुङ चुम्लुङ (कियाचु) युकेको चुम्लुङदेनको सहयोगार्थ कियाचुका सहकोषाध्यक्ष दिपेन्द्रमार्फत हस्तान्तरण गरे ।
संघका अध्यक्ष दुर्गा पाङ्माको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रम महासचिव जय मादेम्बाले र सांस्कृतिक कार्यक्रम सचिव शान्ति खिम्दिङ्ग सेलिङ्गले सञ्चालन गरेका थिए । त्यस्तै टिकेटिङ्गमा कोषाध्यक्ष सानु सुब्बा र अमृता केरुङले विशेष भूमिका खेलेका थिए ।






