एटा संवाददाता
लन्डन । बेलायतबाट निरन्तर प्रकाशन भइरहेको एभरेस्ट टाइम्सले शुक्रबार दसौं वार्षिकोत्सव मनाएको छ ।


अल्डरसटस्थित एम्पायर हलमा विशेष समारोह आयोजना गरी वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सवको अवसरमा च्यारिटी कार्यक्रमसमेत राखिएको थियो । च्यारिटीबाट उठेको रकम नेपालमा क्रियाशील अपांगता भएका महिला पत्रकारहरुलाई पुरस्कृत गरिने एभरेस्ट टाइम्सले जनाएको छ । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ आइसीसीका उपाध्यक्ष कुल आचार्य, बेलायतमा क्रियाशील विभिन्न संस्थाका अध्यक्ष, प्रतिनिधिहरुको सहभागीता थियो ।
कार्यक्रममा पत्रिकाको १०औं वार्षिकोत्सवको विशेष प्रकाशन विमोचन गरिएको थियो । एभरेस्ट टाइम्सका अध्यक्ष कुलबहादुर थापाकाे अध्यक्षतामा भएको कार्यक्रम प्रबन्ध निर्देशक दुत पुनले सञ्चालन गरेका थिए ।
सन् २००८ अगस्ट २२ शुक्रबारका दिन नमुना अंक छापिएको एभरेस्ट टाइम्स ११ सेप्टेम्बरदेखि निरन्तर प्रकाशन हुंदै आएको छ । अल्डरसटमा कार्यालय रहेको यस पत्रिकाले बेलायतवासी नेपाली समुदाय र नेपालका विषयबस्तु समेट्दै आएको छ ।
एभरेस्ट टाइम्समा अहिले ११ जना लगानीकर्ता रहेका छन् । सुरुमा १७ जना लगानीकर्ता थिए ।









