तस्बिर : क्वीन्स एभिन्यू फुटबल ग्राउण्ड ।
बेलायत २६ मे २०२४ । तमु धीं युकेको आयोजनामा बेलायतमा आज (आइतबार) गोर्खा कप-२०२४ हुँदैछ ।
अल्डरसटस्थित क्वीन्स एभिन्यू फुटबल ग्राउण्डमा संचालन हुने फुटबल प्रतियोगितामा ५० टिमले प्रतिस्पर्धा गर्दैछन् । यो प्रतियोगिता २२ औं संस्करणको हो । प्रतियोगिता संयोजन खेलकुद सचिव क्याप्टेन दिपक घलेले गरिरहेका छन् ।
उनका अनुसार कपको तयारी लगभग सकिएको छ । यस वर्ष गोर्खा कपमा, मुख्य टिम ३२ र भेट्रान टिम १६ तथा २ महिला टिम गरेर जम्मा ५० टिमले भाग लिने छन् ।
गोर्खा कपमा फुटबल मेन टिमको विजेतालाई £३०००, उपविजेतालाई £१८००, भेट्रान टिमको विजेतालाई £१५००, उपविजेतालाई £१२००, महिला टिमको विजेतालाई £६००, उपविजेतालाई £४०० नगद पुरस्कार प्रदान गरिने भएको छ ।
गोर्खा कप २०२४ को मेन टिमको बिजेता टिमलाई £३००० पुरस्कार रिया मनी ट्रान्सफरले प्रायोजन गरेकोछ भने उपविजेता टिमलाई टंक भट्टराई हेल्थ क्याम्पले £१८०० प्रयोजन गरेको छ ।
यस वर्ष उत्कृष्ट खेलाडीहरुले भने घडी उपहार प्राप्त गर्ने छन् । गोर्खा कप २०२४ को मुख्य आकर्षणहरुमध्ये यस वर्ष नेपालबाट फुटबल खेलाडीहरु कविन राई, विवश गुरुङ र गोरख घलेको सहभागिता रहने भएको छ।
अन्य आकर्षणहरु सांकृतिक कार्यक्रम, धौलागिरि नौमती बाजा, खानपिनका स्टलहरु, च्यारिटीका स्टलहरु, व्यापारिक प्रयोजनका लागि स्टलहरु, घरायसी प्रयोजनका लागि चाहिने भाँडाकुँडा पसलहरु, लत्ताकपडा पसलहरु, जनचेतनामूलक स्टलहरुलगायत रहने व्यवस्था गरिएको क्याप्टेन घलेले बताएका छन् ।
गोर्खा कपमा प्रमुख अतिथि, रसमूर बोरो काउन्सिलका मेयरलाई आमन्त्रण गरिएको छ भने विशेष अतिथिहरुमा नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, गोर्खा ब्रिगेडका अफिसरहरूलगायत रसमुर बोरो काउन्सिलरहरुलाई आमन्त्रण गरिएको छ । अन्य अतिथिहरुमा बेलायतमा स्थापित विभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरुलगायत दूतावासका कर्मचारीहरु रहने बताएका छन् ।






