
लन्डन २ जुन २०२४ । बेलायतमा बसोबास गर्ने किरात राई समुदायले आफ्नो महान् चाड साकेला उभौली-२०२४ धुमधामका साथ मनाएका छन् ।
किरात राई यायोक्खा बेलायतले शनिबार किरात राई ग्याम्बल लेनमा सांस्कृतिक समारोह आयोजना गरी साकेला चाड मनाएका हुन् । कार्यक्रममा सबैभन्दा पहिलो पितृ पूजाअन्तर्गत तीन चुल्होको पूजा गरिएको थियो । त्यसपछि स्व.राष्ट्र राईको सम्झनामा उनका साथीहरूद्वारा निर्मित चौतारोको उद्घाटन गरिएको थियो । यसपछि भने औपचारिक कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, विशेष अतिथि प्रतिनिधिसभा नेपालका सदस्य तथा निवर्तमान युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बू, गिल्डफर्ड बोरो काउन्सिलका डेपुटी मेयर काउन्सिलर हवार्ड स्मिथ तथा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर रहेका थिए ।
जनजाति महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पासहित विभिन्न संघसंस्थाका अध्यक्षहरू अतिथि रहेका थिए । कार्यक्रमका संयोजक रि. मेजर भूपजीत राईले स्वागत मन्तव्य राखेका थिए ।
जनजाति महासंघका अध्यक्ष शेर्पा, एनआरएनए युकेका अध्यक्ष मगर, प्रतिनिधिसभा सदस्य लिम्बू र राजदूत आचार्यले कार्यक्रम सफलताका लागि शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्षसहित प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूले दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । सो क्रममा विभिन्न स्थानबाट आएका कलाकारले साकेला नृत्य प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष मे. रि. योगेश कोयी राईको अध्यक्षतामा भएको कार्यक्रम महासचिव ईश्वर चाम्लिङ राईले सञ्चालन गरेका थिए ।






