
लन्डन ४ मे २०२४ । बेलायतवासी समाजसेवी एवं मेन्टल हेल्थ कम्युनिटी नर्स सुष्मा गुरुङले सञ्चालन गरेको कार्यक्रम ‘कुराकानी’को सय शृंखला पूरा भएको छ ।
मुख्य रूपमा मानसिक स्वास्थ्य र स्वास्थ्यका अन्य विषयमा छलफल हुने ‘कुराकानी’ ले सय भाग पूरा गरेको हो । सुष्मा गुरुङ मुख्य सञ्चालक रहेको यस कुराकानी कार्यक्रममा डा. विशाल गुरुङ, डा. जित गुरुङ र डा. विजयलगायत चिकित्सकको टोली सञ्चालकका रूपमा रहेका छन् ।
यो कार्यक्रम पछिल्लो समय बेलायतमा रहेका नेपाली समुदायबीच लोकप्रिय छ । ग्रेटर रस्मुर नेपाली कम्युनिटीको आयोजनामा हरेक मंगलबार बेलुका ७ देखि ९ बजेसम्म यो कार्यक्रम प्रसारण हुने गरेको छ । सय शृंखला पुगेको अवसरमा आइतबार एक विशेष अन्तरक्रिया आयोजना गरिएको थियो ।
शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर क्विन्स रोड अल्डरसटमा भएको अन्तरक्रियामा १०० जनाभन्दा बढीको उपस्थिति थियो । दिउँसो १ देखि ५ बजेसम्म भएको कार्यक्रममा गोर्खा पेन्सनरहरू, स्वास्थ्य कार्यकर्ता तथा सामाजिक अभियन्ताहरूको उपस्थिति थियो ।
सुष्मा गुरुङले सञ्चालन गरेको अन्तरक्रियाको अध्यक्षता ग्रेटर रस्मुर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङले गरेका थिए । जसमा एनएचएस मेन्टल हेल्थ कम्युनिटी हेल्थ सेन्टरबाट क्यारोल मोरेको पनि उपस्थिति थियो । उनले सुष्मासँग प्रतिबद्धता जनाइ नेपाली समुदायका लागि यो कार्यक्रम गराइएको हो।
डा. जित, फार्मासिस्ट सोम थापा, डा. विजय अधिकारी, सुष्मा गुरुङ, योगा कन्स्ट्रक्टर मेघ गुरुङ तथा डा. विशाल गुरुङहरूले गरेको अन्तर्क्रियामा गोर्खा अग्रजहरूले सहभागिता जनाएका थिए ।
यसैगरी, सामुदायिक स्वास्थ्य सल्लाहकार निशा शर्मा, डा. रवि पन्त, न्युट्रीसनिस्ट धिरज घसे, सामाजिक अभियन्ता रोहित गुरुङ, पं मधुसूदन सत्याल पनि सहभागी थिए । सो अवसरमा कार्यक्रमलाई सहयोग गर्ने डेनटिस्ट नर्स प्रमिला लाबुङ राई, डा. देउमान गुरुङ, गोमा राना, भीम तामाङ र डा. लता सत्यालको प्रशंसासमेत गरिएको थियो ।






