
लन्डन १९ जुन २०२४ । Kumar SK Gurung कुमार एसके गुरुङ
बागलुङे समाज युकेको वार्षिक भेटघाट यही २२ जुनमा हुँदैछ ।
अल्डरसटस्थित एम्पायर हलमा उक्त वार्षिक भेटघाट हुन लागेको हो । उक्त कार्यक्रमका लागि चर्चित गायिका दिलु सलामीमगर सोमबार बेलायत आएकी छन् । उनलाई लन्डनको हिथ्रु विमानस्थलमा स्वागतका लागि निवर्तमान अध्यक्ष तथा सल्लाहकार छविमाया पुन, उपाध्यक्ष तथा कार्यक्रम संयोजक मित्र थापा, महासचिव शेर पुन, सांस्कृतिक सचिव कृष्ण रोका र दाइ दुर्गा सलामीले स्वागत गरेका थिए ।
भेटघाट कार्यक्रमका लागि बिहान ११ देखि राति ११ बजेसम्म समय तोकिएको छ । बागलुङ समाज युकेको आफ्नै नौमती बाजा र स्थानीय कलाकारहरुको नृत्युसहित बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा बागलुङे मौलिक भाका झाम्रे पनि प्रस्तुत हुनेछ । सन् २००८ मा स्थापना भएको बागलुङे समाजले वार्षिक भेटघाट तथा विभिन्न कार्यक्रम नियमित गर्दै आएको छ ।
२२ जुनको कार्यक्रममा युकेवासी सम्पूर्ण बागलुङे तथा गैरबागलुङे परिवारमा निमन्त्रणा गरिएको छ ।






