
काठमाडौँ ३ जुलाई २०२४ । नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ ।
बुधबार दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीहरुले पनि प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिएका छन् ।
एमाले अहिले आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीसहित सरकारबाट बाहिरिएको छ । कांग्रेस र एमालेबीच सोमबार राति आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिसहित गठबन्धन गर्ने सहमति भएको थियो ।
उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी , कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् ।






