शिवशरण गुरुङ
लन्डन । बेलायत भ्रमणमा रहेका बौद्ध अर्घौ सदन पोखराका प्रमुख लामा तथा खेम्पो शिर लामा तमु (थुब्तेन येशे) बाट साङ सेरकेम, गण चक्र छोग मार्में पूजा तथा प्रवचन कार्यक्रम गरिएको छ ।
तमु समाज युकेको आयोजनामा लन्डनको वेम्बली बरहाम पार्कस्थित तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा १ सेप्टेम्बर शनिबार कार्यक्रम भएको हो । पूजा तथा प्रवचन कार्यक्रममा तमु समाज युकेले प्रमुख अतिथि धर्मगुरु खेम्पो शिर लामालाई भव्य स्वागत गरेको थियो । उनी लामा तथा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजका संस्थापक तथा केन्द्रीय अध्यक्षसमेत हुन् ।
तमु समाज युकेको अध्यक्ष शिवचन्द्र गुरुङको अध्यक्षता र उपाध्यक्ष कन्यप्रसाद गुरुङको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव हर्कबहादुर गुरुङले गरेका थिए । प्रमुख अतिथि धर्मगुरु खेम्पो शिर लामा, समाजका अध्यक्ष गुरुङ, आमा समूहका अध्यक्ष विन्दु घले र कार्यक्रम संयोजक तथा उपाध्यक्ष गुरुङबाट संयुक्तरुपमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरिएको थियो ।
कार्यक्रमको प्रारम्भमा महासचिव गुरुङबाट हेल्थ एन्ड सेफ्टीबारे जानकारी, संयोजक गुरुङले स्वागत मन्तव्य र पूर्वअध्यक्ष शिवशरण गुरुङले खेम्पो तमुको जीवनीबारे संक्षिप्त बताएका थिए । कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि श्रद्धेय धर्मगुरु खेम्पो शिर लामा तमु (थुब्तेन येशे), देवाचन बुद्धिस्ट सेन्टर युकेका प्रमुख लामा धरम गुरुङ, तमु समाज युकेका सल्लाहकार लेक्चरर लामा प्रेम गुरुङ र अन्य दुईजना स्थानीय लामाहरुबाट साङ सेरकेम, गण चक्र छोग मार्में पुजा सञ्चालन गरिएको थियो ।
दोस्रो चरणमा प्रमुख अतिथि खेम्पो शिर लामाले बौद्ध शिक्षा, दर्शन, जन्म र मृत्यु कर्मकाण्डको बारेमा प्रवचन दिएका थियो । अन्तिममा उपस्थित सबैले धर्मगुरुहरुबाट अभिषेक तथा प्रसादसमेत ग्रहण गरेका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष गुरुङ र आमा समूहकी अध्यक्ष विन्दु घलेले धर्मगुरु खेन्पो शिर लामालाई ‘तमु समाज युके विशिष्ट समाजसेवा सम्मान पत्र–२०१८’ बाट सम्मान गरेका थिए । सो कार्यक्रममा तमु समाज युकेले पोखरा बौद्ध अर्घौ सदनमा निर्माणधीन बौद्ध गुम्बाको सहयोगार्थ २ हजार ७० पाउन्डको चेक पनि प्रदान गरेको थियो ।
यसैगरी, हातेमालो आमा समूह युके र व्यक्तिगतरुपमा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, वर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र सल्लाहकार सुवाससिङ गुरुङ (बिईएम)ले पनि निर्माणाधीन बौद्ध गुम्बाको सहयोगार्थ आर्थिक सहयोग प्रदान गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै खेम्पो शिर लामाले तमु समाज युकेद्वारा आयोजना गरेको पवित्र पूजा तथा प्रवचन कार्यक्रममा आपूmले प्राप्त गरेको स्वागत तथा सम्मान र बौद्ध अर्घौ सदन पोखरामा निर्माणधीन बौद्ध गुम्बाको सहयोगार्थ तमु समाज युकेले गरेको आर्थिक सहयोगका निम्ति खुसी र आभार प्रकट गरे । उनले तमु समाज युकेलाई उत्तरोत्तर प्रगतिको शुभकामनासहित हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । उनले बौद्ध अर्घौ सदन पोखरामा निर्माणाधीन बौद्ध गुम्बा निर्माण परियोजना र यसमा सञ्चालित बौद्ध धर्म शिक्षा प्रशिक्षणको भावी योजनाबारे पनि प्रकाश पारेका थिए ।
अत्यन्तै सौहार्द तथा पारिवारिक वातावरणमा सुसम्पन्न भएको कार्यक्रममा तमु समाज युकेका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङ, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, आमा समूहकी अध्यक्ष, आमा समूहकी निवर्तमान अध्यक्ष माया गुरुङलगायत पदाधिकारी तथा आमाहरु, युवा समूहका अध्यक्षलगायत युवायुवतीहरु, हातेमालो आमा समूह युके र जेष्ठ नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको अन्तमा अध्यक्ष गुरुङले धन्यवाद मन्तव्यसहित कार्यक्रम समापन गरेका थिए ।
सो विशेष पूजा तथा प्रवचन कार्यक्रमको निम्ति स्वतःस्पूmर्त श्रद्धाभावपूर्वक विभिन्न महानुभावहरुले प्रदान गरेको आर्थिक दान र भोजन दानबाट उपस्थित सबैलाई आमा समूहले निःशुल्क खाजा र खानाको व्यवस्थापन गरेका थिए ।
कार्यक्रम आयोजनामा आरम्भदेखि अन्तसम्म खेलकुद तथा खाद्य सचिव हरिमान गुरुङको विशेष भूमिका रहेको थियो । र, उनले नै उपस्थित सबैलाई निःशुल्क जलपानको व्यवस्था गरेका थिए । कार्यक्रमको भिडियो तथा फोटोग्राफी आजीवन सदस्य बिशन गुरुङले गरेका थिए ।






