
तस्बिर : शिव भण्डारी
लन्डन ९ जुलाई २०२४ । बेलायतको नयाँ सरकारले पनि गोर्खा मुद्दालाई बेवास्ता गरेमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले भोक हडताल गर्ने चेतावनी दिएको छ ।
लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आइतबार आयोजित जानकारीसभामा संयुक्त संघर्ष समितिले अब लेबर नेता सर किअर स्टार्मरको नेतृत्वको नयाँ सरकारलाई पनि आफ्नो माग सम्बन्धमा छिट्टै ज्ञापन बुझाउने र यदी बेवास्ता गरे कुनै पनि बेला आफूहरु भोक हड्तालसहित आन्दोलनमा उत्रने चेतावनी दिएको हो । जुलाई ४ को बेलायतको आमनिर्वाचनलाई मध्यनजर गर्दै समितिले १ जुलाईदेखि गर्ने भनिएको आन्दोलन स्थगित गरेको थियो ।
समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले विज्ञप्ति वाचन गर्दै भने, ‘बेलायत र नेपाल सरकारले अब पनि विभिन्न बहानामा गोर्खा वार्ता लम्ब्याउने रणनीति गरे भने हामी गोर्खाहरु आमरण अनशन जस्तो अप्रिय निर्णय गर्न बाध्य हुनेछौं । यो हाम्रो चेतावनीमात्र होइन्, सरोकारवाला सबैपक्षलाई एड्भान्समा जानकारी पनि हो ।’सत्याग्रहका यूके सहसंयोजक क्याप्टेन यमबहादुर गुरुङको अध्यक्षतामा भएको जानकारीसभामा गेसोका वरिष्ठ उपसभापति भक्तबहादुर गुरुङ, सत्याग्रहकी कोषाध्यक्ष विष्णु गुरुङ, महासचिव सइन्द्र केसी लगायतले मन्तव्य राखेका थिए ।






