
लन्डन १५ जुलाई २०२४ । अढाई वर्षको कार्यकाल पूरा गरेर बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य नेपाल फर्किएका छन् । आइतबार अपराह्न राजदूत आचार्य, उनकी पत्नी सुनिता र एक सहयोगीसहित कतार एयरवेजमार्फत नेपाल फर्किएका हुन् । राजदूत परिवारको बिदाइ गर्न दूतावास कर्मचारी हिथ्रो एयरपोर्ट पुगेका थिए । राजदूत आचार्य सन् २०२२ जनवरी अन्तिममा राजदूत नियुक्त भएका थिए । उनले ३१ मार्च २०२२ मा बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।
गत बिहीबार लन्डनस्थित दूतावास भवनमा आयोजित बिदाइ समारोहमा आचार्यले आफ्नो कार्यकालका विभिन्न उपलब्धिबारे अवगत गराएका थिए ।
नेपाल सरकारले गत ६ जुनमा बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णयपछि आचार्य स्वेदश फर्किएका हुन् ।






