लन्डन २६ २०२४ । बेलायतमा ६ नेपालीले ग्रान्थम-नोटिङघमको ३३ माइल दूरी १० घण्टा ४० मिनेटमा पूरा गरेका छन् ।
विश्व चर्चित लन्डन म्याराथनको तयारीमा रहनु भएका कृष्ण गुरुङ, कमल भण्डारी, शिव तिमल्सिना, देव बाडा, रामु कँडेल र प्रकाश केसीले यही २२ जुलाईमा ३३ माइल क्यानल वाल्क च्यालेन्जलाई पूरा गरेका हुन् । उनीहरूको बिहान ९ बजे ग्रान्थमबाट सुरु भएको यात्रा राति ९ बजे नोटिङघम पुगेको थियो ।
‘करिब २० माइलसम्म हाँसो, रमाइलोको साथमा समय गएको पत्तै भएन, २१ माइल, २२ माइल हुँदै २८ माइल पुगेपछि बिस्तारै सबैको पैतालामा दुखाइ अनि दुखाईले हिँड्न गारो भए पनि एक अर्कालाई हौसला दिँदै हिँडियो । १० घण्टा ४० मिनेट हिँडेको थाहा नै भएन,’ धावक कृष्ण गुरुङले सुनाए । यहाँले यो हिँडाई आफूहरुका लागि अविष्मनीय पल हुने बताएका छन् ।

आउँदो सेप्टेम्बर १ तारिखमा लन्डन हाफ म्याराथनको पूर्वतयारी स्वरुप ग्रान्थम-नोटिङघम यात्रा गरिएको भन्नु हुँदै गुरुङले आफूहरु हरेक शनिबार हुने पार्क रनबाट अभिप्रेरित भएको प्रस्ट्याए । हिँडाइको अर्को उद्देश्य आफू स्वस्थ रहौं र अरुलाई पनि स्वस्थ राखौं भन्ने रहेको उनले प्रस्ट पारे ।
गुरुङ आउँदो अप्रिल २०२५ को लन्डन म्याराथनमा भाग लिँदै छन् भने उनको टोलीमा सहभागीहरुले २०२६ को लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका छन् ।






