
लन्डन ३ सेप्टेम्बर २०२४ । वेक्स्ली नेपाली समाज बेलायतले आफ्नो वार्षिक क्यालेण्डर अनुसार यस वर्षको तीज भव्यताका साथ मनाएको छ ।
समाजका अध्यक्ष डाक्टर हरिश ज्ञावलीको अध्यक्षता र उपाध्यक्ष बिजिता गौतमको संयोजनमा बेलायतका लागि नेपाली राजदूत कार्यवहाक राजदूत खनालको उपस्थितिमा शनिबार गत २४ अगस्ट २०२४ मा फालकोनवुड कम्युनिटी हलमा भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रम महासचिव हिमाल गुरुङले सञ्चालन गरेका थिए भने साँस्कृतिक कार्यक्रम उपाध्यक्ष केदार थपलियाले जिम्म लिएका थिए ।

कार्यक्रममा डाइमण्ड बुद्धिस्ट सेन्टर यूकेका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङ, सोँपाल समाज युकेका सँस्थापक अध्यक्ष तथा पूर्वअध्यक्ष विजयबहादुर गुरुङ, पूर्वअध्यक्ष आनन्द धरेल, साउथ इस्ट रिजनल तमु धीं यूकेका उपाध्यक्ष / आमा प्रमुख बिन्दु गुरुङ, नर्सिङ एसोसिएसनका अध्यक्ष सुनिता थापा लगायत अतिथिहरू रहेका थिए ।
नेपाली महिलाहरूको महान् चाड तीज पर्व कार्यक्रम नेपाल र ब्रिटिसको राष्ट्रिय गानापश्चात् प्रमुख अतिथि कार्यवाहक राजदूत रोशन खनालको साथमा बिजिता गौतम, आराधना ज्ञावली, माया गुरुङ र बिमला धरेलले पानसमा दीप प्रज्वलन गरी थालनी गरेका थिए । यस अवसरमा आफ्नो शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि रोशन खनालले विदेशी भूमि तथा फरक परिवेशमा रहेर पनि वेक्स्ली नेपाली समाजले आफ्नो देशको कला, संस्कार, संस्कृति जोगाउने साथै मौलिकता र राष्ट्रियता फैलाउने कार्यहरू र वेक्स्लीमा बसोबास गर्ने नेपालीहरूका स्वास्थ्यप्रति सजग रहन विभिन्न प्रकारका फिटनेस र योगा कार्यक्रमहरू सञ्चालन गरी सराहनीय काम गर्दै आएको बताए । उनले भविष्यमा पनि राज दूतावासद्वारा सो समाजलाई सहयोग र सहकार्य रहिरहने बताए ।

वेक्स्ली नेपाली समाजका अध्यक्ष डा. हरिश ज्ञावलीले आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथिलगायत सहभागी र सहयोगी सम्पूर्णलाई धन्यवाद दिनुका साथै हाल अमेरिकामा भएको दु:खद घटना ममता काफ्लेप्रति अति दुःख व्यक्त गर्दै यस्ता समस्याहरू जहाँ र जसलाई पनि हुन सक्ने र यस्ता घटनाहरू नहोस् र भएमा के कसरी समाधान गर्ने बाटो खोज्नु पर्छ भनी सतर्कता दर्शाए ।
यसैगरी यस भव्य कार्यक्रममा आएका सम्पूर्णलाई स्वागत गर्दै उपाध्यक्ष तथा संयोजक बिजिता गौतमले वेक्स्ली नेपाली समाजको आँगन तपाईं/हामी सबैको साझा आँगन हो भनी भावनात्मक सम्बन्ध र आत्मीयता दर्शाए भने समाजका सल्लाहकार चन्द्रबीर गुरुङले हेल्थ एन्ड सेफ्टको बारेमा बताए ।

विशेष महिलाहरूको पर्व भएकोहुनाले महिलाहरू नै तीजको गीतमा नाचेको देखिरहँदा वेक्स्ली नेपाली समाजको सो कार्यक्रममा भने महिला दिदीबहिनी र नानीबाबुहरूको नाचबाहेक पुरुषहरूको सामूहिक नाच ‘वारि जमुना, पारि जमुना’ विशेष रहेको थियो । जसले कार्यक्रममा एउटा छुट्टै सुन्दरता र आनन्द थपिएको थियो । घरदेश होस् या परदेश नेपाली जहाँ पुग्यो त्यहीँ नेपाल हुन्छ भन्दा केही अत्युक्ति नहुने गरी तीजको मनोरंजन दिने मिठो गीत संगीत थियो भने यसको जिम्मा डिजे डीएनएनले लिएका थिए ।







