लन्डन ४ सेप्टेम्बर २०२४ । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग हुनसक्ने डरले बुधबार आफ्नो सरकारले इजरायलमा हतियार निर्यात आंशिक रूपमा निलम्बन गर्ने कानुनी निर्णय गरेको बताएका छन् ।
सोमबारको ३५० हतियार निर्यात इजाजतपत्रमध्ये ३० लाई निलम्बन गर्ने घोषणाले इजरायलको आत्मरक्षाको अधिकारका लागि बेलायतको समर्थनमा आएको परिवर्तनलाई सङ्केत नगरेको स्टारमरले बताए । उनले आफ्ना सहयोगीहरूले बेलायतको कदमलाई बुझ्ने विश्वास व्यक्त गरे ।
गाजापट्टीमा हमास लडाकुहरू विरुद्ध इजरायलले गरेको युद्धको सम्बन्धमा विदेश मन्त्रालयले गरेको समीक्षापछि यो निर्णय गरिएको उनले बताए । आंशिक प्रतिबन्धले गाजामा हालको द्वन्द्वमा प्रयोग गर्न सकिने लडाकू विमान, हेलिकप्टर र ड्रोनहरू समावेश गर्दछ तर उन्नत एफ–३५ स्टील्थ लडाकू जेटहरूको निर्यात निलम्बन गरेको छैन ।
बेलायतको यो निर्णयले इजरायललाई आक्रोशित बनाएको छ र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमलाई “लाजमर्दो” भएको बताएका छन् ।
यो कदमले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई सङ्केत गरेको कुरा पनि स्टारमरले अस्वीकार गरेका छन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सोमबार लण्डनले आफ्नो कदमको घोषणा हुनुअघी वासिङ्टनलाई सुचित गरेको बताएका थिए ।
स्टारमर सरकारले उनको पूर्ववर्ती ऋषि सुनाकको प्रशासनको तुलनामा मध्य पूर्व द्वन्द्वमा बढी सूक्ष्म दृष्टिकोण अपनाइरहेको छ । त्यसैगरी बारम्बार युद्धविराम र गाजामा सहायता वितरणलाई तीव्र बनाउन आह्वान गरेको छ, र हमाससँग अक्टोबर ७ को आक्रमणमा कब्जा गरेका सबै बन्धकको रिहाई माग गरेको छ ।






