
लन्डन २० सेप्टेम्बर २०२४ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजीले) विदेशमा रहेको नेपालीको वंशजको नागरिकता निरन्तरबारे अज्ञात नामबाट सर्कुलर भइरहेको भन्दै आपत्ति जनाएको छ ।
शुक्रबार २० सेप्टेम्बरमा सीएनसीबीजीले विज्ञप्ति जारी गर्दै उक्त सर्कुलर शंकास्पद भएकाले सचेत र आह्वानसमेत गरेको छ । ‘We Nepali’ अज्ञात नामबाट Petition सर्कुलरमा साझा अभियानमा प्रवासमा रहेका सम्पूर्ण नेपालीले हस्ताक्षर गरी सहयोग गर्न अनुरोध गरिएको छ ।
‘यस्तो संवेदनशील विषयमा हस्ताक्षर संकलन गर्ने कार्य गोर्खाको निम्ति वंशजको नेपाली नागरिकता निरन्तरताको अभियान चलाइरहेको सीएनसीबीजीको जानकारी बिना गोर्खाजन्य संघसंस्थाको प्लेटफर्ममा सर्कुलर गरिएको पाइएको हुनाले त्यसप्रति हाम्रो ध्यान केन्द्रित भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
आधिकारिक रूपमा स्पष्ट परिचय खुल्न नआएको अज्ञात व्यक्ति वा संथाबाट जारी गरिएको सर्कुलरको मूल उद्देश्य शंकास्पद देखिएकोले त्यसमा आफूहरूको संलग्नता नरहेको सीएनसीबीजीले स्पष्ट पारेको छ ।
‘यसबाट हाम्रो अभियानलाई पर्न जाने नकारात्मक असरप्रति हामी चिन्तित छौँ। त्यसैले बेलायतवासी गोर्खाजन्य संघसंथामा आबद्ध सम्पूर्ण गोर्खा परिवार तथा अन्य दाजुभाइ, दिदीबहिनी र भान्जाभान्जीमा सतर्कता अपनाउन आव्हान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।






