p
लन्डन २४ सेप्टेम्बर २०२४ । गोर्खा नेप्लिज कम्युनिटी पिटरबरो (जीएनसीपी)को आयोजनामा गोर्खा र निजका सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तरता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार २२ सेप्टेम्बर २०२४ बेलुका पिटरबरोको गोर्खा टेष्ट रेस्टुरेन्टमा उक्त अन्तरक्रिया भएको हो । सीएनसीबीजीको तर्फबाट उपाध्यक्ष दलबहादुर बुढाथोकी र सचिव जीत घर्तीमगरले गोर्खाहरुका लागि वंशजको नागरिकता विषयमा प्रस्ट्याएका थिए ।
छलफलको क्रममा संस्थाका सल्लाहकार राम राईले सीएनसीबीजीले ठीक विषय उठाइरहेकोले गोर्खाहरुमा आशा जागेको भन्दै यो काम सन्ततिहरुको निम्ति भएकोले अभियानलाई सहयोग गर्न अनुरोध पनि गरे । आर्थिक पक्ष पारदर्शिता नभएमा सीएनसीबीजी नै जवाफदेही हुनुपर्ने भएकोले सावधानी अपनाउन सुझाव दिए ।
गोर्खालीहरुको लागि समस्या चर्किंदै गएकोले आफ्नो अधिकारका लागि सबै एकजुट हुनुपर्नेमा उनको जोड रहेको सीएनसीबीजी उपाध्यक्ष दलबहादुर बुढाथोकीले जानकारी गराए ।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष तथा गोर्खा टेष्ट रेस्टुरेन्टका सञ्चालक मणिराज जोल्मीले गोर्खाहरु नेपाल सरकारले नै आवासीय अधिकार दिन सहमत भएकोले आफैले वंशजको नागरिकता खोस्न नमिल्ने बताए । उनले वंशजको नागरिकता जोगाउन सबै एकजुट भएर सीएनसीबीजीले संचालन गरेको अभियानमा जोडिन र सहयोग गर्नुपर्नेमा जोड दिँदै कार्यक्रम समापन गरे । कार्यक्रम संस्थाका सचिव तुल पुनले संचालन गरेका थिए ।






