जमुना पुन
फार्नबोरो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको साधारणसभा सम्पन्न भएको छ ।
फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा गत १५ सेप्टेम्बर शनिबार आयोजित कार्यक्रम फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङ र फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राईले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै फोनिज अध्यक्ष गुरुङले समाचार कक्षमा हाम्रा र राम्रा मान्छे नभएसम्म आदिवासी जनजातिका मुद्दाले सञ्चारमाध्यममा उचित स्थान नपाउने बताए । उनले पत्रकारहरुको दक्षता अभिवृद्धिमा जोड दिँदै व्यावसायिक पत्रकारिता गर्नुपर्ने बताए ।
कार्यक्रममा महासचिव खुसी लिम्बूले फोनिज युकेले एक वर्षमा गरेका कार्यहरु उल्लेख गरे । उनले फोनिज युकेले पत्रकार सञ्जय सन्तोषी राईलाई आर्थिक सहयोग गरेको, उपराष्ट्रपति नन्दबहादुर पुनबाट वर्ष २०१७ का पत्रकारद्वय गणेशमान गुरुङ र मिलन लिम्बूलाई’ फोनिज यूके पत्रकारिता पुरस्कार प्रदान गरिएको, पत्रकार गोपाल छाङछालाई फोनिज युकेको आर्थिक सहयोग, २७ जनवरी २०१८ का दिन फोनिज यूकेको मिडिया तथा पत्रकारितासम्बन्धी एकदिने कार्यशाला गोष्ठी गरिएको, फोनिज युकेले यस वर्षदेखि फोनिज युके पत्रकारिता पुरस्कार राशिमा बुद्धि गरी ५० हजार रुपैयाँ पु¥याउने लक्ष्यका साथ अक्षय कोष स्थापना गर्न लागिएको महासचिव लिम्बूले बताए ।
महासचिव लिम्बूले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गोमा रानाको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
साधारणसभामा वरिष्ठ पत्रकार एवं फोनिजका सल्लाहकार समिति संयोजक खिम घले र नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष जंग सुनुवारले शुभकामना मन्तव्य दिएका थिए ।
प्रमिला राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ्गले स्वागत मन्तव्य दिएका थिए भने महासचिव लिम्बूले सञ्चालन गरेका थिए ।






