एटा संवाददाता
अल्डरसट । तमु फोरम युकेले गुरुङ (तमु) खेगी गुरुहरु (पच्यु, लामा र क्ल्हलेंप्री) को पहिलो ऐतिहासिक प्रवचन कार्यक्रम आयोजना गरेको छ ।
अल्डरसटको एम्पायर हलमा गत आइतबार १६ सेप्टेम्बरका दिन गुरुङहरूको संस्कार र संस्कृतिअनुसार गरिने पूजा र पितृकार्यलाई समेटेर गुरुङ (तमु) सांस्कृतिक मञ्च युके, तमुधिं युके, तमु प्हे ल्हु संघ युके र बेलायतमा क्रियाशील ७१ वटै गुरुङ (तमु) संघ–संस्था मिलेर पहिलोपटक ऐतिहासिक प्रवचन कार्यक्रम गरेका हुन् । गुरुङहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा खेगी गुरु यारजङ्ग गुरुङ, खेन्पो शीर लामा गुरुङ, धनबहादुर तमु, धरम तमु, राजमान तमु, गंगाबहादुर तमु, जीतबहादुर तमु र हिरा तमुले गुरुङहरुको संस्कार, संस्कृति तथा परम्पराका बारेमा बोलेका थिए ।
कार्यक्रममा पूर्वप्र.अ. एकेन्द्र गुरुङले प्रमुख अतिथि एवं पूर्व राष्ट्रिय पञ्चायत सदस्य पैंडी नन्दजङ्ग गुरुङको बारेमा बताएका थिए । त्यस्तै, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ र तमु प्ये ल्हु संघ युकेको अध्यक्ष मेजर खुसीमान गुरुङ एभिओले उपस्थितिका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
तमु फोरम युकेले प्रकाशन गर्न लागेको त्रिभाषीय पुस्तकमा समिटिने गुरुङ संस्कार–संस्कृतिको बारेमा व्यापक रुपमा छलफल गरिएको थियो । प्रमुख अतिथि पैंडी नन्दजङ्ग गुरुङले दीप प्रज्ज्वलन गरी सुरु गरिएको अन्तत्र्रिmयामा फोरमका निर्देशक क्या.रि.राजु गुरुङले स्वागत मन्तव्य दिएका थिए । उनले गुरुङहरुको संस्कार, संस्कृति जगेर्ना गर्नाका लागि एकता अपरिहार्य रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि पैंडी नन्दजङ्ग गुरुङले त्रिभाषीय पुस्तक निकाल्दा पच्यु, लामा र क्ल्हलेंप्रीको विचारलाई समेट्न आग्रह गरेका थिए । कार्यक्रममा लमजुङ समाज युकेले सामूहिक रुपमा घाँटु नृत्य प्रस्तुत् गरेको थियो ।
फोरमका निर्देशक क्या.रि.राजु गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई फोरमका सहनिर्देशक हरि गुरुङ र नायिका पुनम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।






