
लन्डन ६ अक्टोबर २०२४ । अतिरिक्त अक्सिजनको प्रयोग नगरी आरोही निर्मल पुर्जा ‘निम्स’ले ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड बनाएका छन् ।
नेपाली समय शुक्रबार दिउँसो १:५५ बजे तिब्बतमा रहेको शिशापाङ्माको आरोहण गरी उनले नयाँ कीर्तिमानी कायम गरेका हुन् । उनले साढे दुई वर्षमा अक्सिजनबिनै सबैभन्दा छिटो १४ वटा चुचुरो पार गरेका छन् ।
पुर्जाले सहकर्मी मिङ्मा शेर्पासँगै प्रतिकूल मौसमका बाबजुद सफलतापूर्वक आरोहण सम्पन्न गरेको व्हाट्सएपमार्फत जनाएका छन् । ‘यो पर्वतारोहणको क्षेत्रमा अर्को नयाँ सन्देश दिन सफल भएका छौं, नेपालीले चाहेमा गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’ पुर्जाले भनेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा समेत हरेक परिस्थितिमा साथ दिएकोमा साथी मिङ्मालाई समेत बधाई दिएका छन् । पूर्जा र मिङ्मा प्रख्यात कम्पनी दि इलाइट एक्सपीडका लगानीकर्ता समेत हुन् ।
सन् २०२२ मे महिनाको ७ तारिखमा अक्सिजनको प्रयोग नगरी आरोही निम्सले कञ्चनजंगाबाट यो अभियानको सुरुआत गरेका थिए । उनले सोही वर्षको मे महिना २७ मा सगरमाथा, मे २८ ल्होत्से हुँदै मकालु,च्होयो, धौलागिरि, अन्नपूर्ण मनासलु, नाङ्गा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो हुँदै अन्तिममा शिशापङ्मा पुगेका थिए । १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पुर्जाले आफ्नै जिल्लामा भएका सातौं अग्लो धौलागिरि हिमाल र १० औं अग्लो अन्नपूर्ण हिमालको आरोहरणमार्फत यो अभियानका बारेमा जानकारी गराएका थिए । आरोहणका लागि सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुमा समेत उनको दुर्लभ कीर्तिमानी छ ।
सन् २००३ मा पोखरास्थित ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरबाट आधारभूत तालिमको ज्ञान प्राप्त गरेका थिए ।






