१७ अक्टोबरमा धरानका मेयर हर्क साम्पाङ बेलायत आउनुहुँदै, यस्तो छ कार्यक्रम र तयारी

SHARE:

लन्डन १३ अक्टोबर २०२४ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आसन्न युके भ्रमणको चर्चा नेपाली र आयोजकहरूबीच व्यापक भइरहेको छ । धरानलाई श्रमदानको माध्यमद्वारा विकास र सुधार गर्न कटिबद्ध मेयर साम्पाङले, चिन्डेडाँडामा सुम्निमा र पारुहाङको मूर्ति स्थापना गर्दै, धरानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन ठूला कदम चाल्नुभएको छ । धरानका नागरिकले उहाँलाई उपमहानगरपालिकाको मेयरमा जिताएदेखि, उहाँले खानेपानीको अभाव टार्नका लागि असम्भवजस्तो देखिने कोकाहा खोलाको पानी धरानमा ल्याएर जनताको समस्या समाधान गर्नुभयो । यस कामले उहाँलाई देश-विदेशमा इमानदार र कर्तव्यनिष्ठ जनसेवकका रूपमा स्थापित गराएको छ ।

खानेपानी, पार्क निर्माण र वृक्षारोपणका अभियानमा नेपालीहरूको देश-विदेशबाट सहयोग र सहभागिता निरन्तर रहँदै आएको छ। आफ्नो जीवनमा भ्रष्टाचार नगर्ने अठोट लिएका मेयर साम्पाङले यसपटक युके भ्रमणको तयारी गर्नुभएको छ, जहाँ उहाँले सुम्निमा र पारुहाङ मूर्ति निर्माणका लागि आर्थिक सहयोग संकलन गर्नुहुनेछ ।

धरान समाज युके यस अभियानको मुख्य आयोजक हो, जसको सहकार्यमा युकेभर विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन् । अन्य संघसंस्थाहरूले पनि आर्थिक सहयोगका लागि आफ्नो प्रतिबद्धता देखाइसकेका छन् । युकेका विभिन्न स्थानहरूमा रहेका नेपाली समुदायले मेयर साम्पाङलाई आफ्नो कार्यक्रममा आमन्त्रण गर्ने तयारी गरेका छन् । मेयर कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएकाले उहाँप्रति सबैको समर्थन उत्साहजनक देखिन्छ । सामाजिक सञ्जालमा पनि सक्रिय अभियान चलिरहेको छ, जहाँ आयोजकहरूले प्रचारप्रसार गर्दै सहयोग जुटाइरहेका छन् ।

सामाजिक सञ्जाल र अन्य माध्यमबाट युकेमा हुने कार्यक्रमहरूको व्यापक प्रचार भइरहेको छ, र मेयर साम्पाङको आगमनलाई लिएर हिथ्रो विमानस्थलमा नेपाली समुदायको बाक्लो उपस्थिति रहने अनुमान गरिएको छ । युके भ्रमण १७ अक्टोबरमा सुरु हुनेछ ।

मेयर साम्पाङ्ग युके भ्रमणका क्रममा आर्थिक संकलनमा मात्र केन्द्रित नभएर युकेका विभिन्न नगरपालिकाका समकक्षी मेयरहरूसँग भेटघाट, विकास निर्माणको जानकारी लिने, विभिन्न पार्टीका साम्सदहरुदेखि संसद् भ्रमण, युकेका पर्यटकीय स्थानहरु पुग्ने लगायत गतिविधिमा सहभागी हुनुहुनेछ ।

मुख्य कार्यक्रमहरूमा १९ अक्टोबरमा फोल्कस्टोनको ग्रान्ड बर्स्टिन होटलमा रात्रिभोज, २० अक्टोबरमा अल्डरसट, २५ अक्टोबरमा ह्यारो फुटबल क्लबमा र २७ अक्टोबरमा स्विण्डनमा, ३१ अक्टोबरमा चाथाममा कार्यक्रम आयोजना गरिएका छन् । अन्य कार्यक्रमहरू आशफोर्ड, ग्रेज, लन्डन र अन्य शहरहरूमा हुनेछन् । कति कार्यक्रमहरु एकै दिन दुई देखि ३ ठाउँसम्म रहेका छन् ।

सुम्निमा पारुहाङ मूर्ति निर्माण अभियानका लागि आर्थिक संकलन यसअघि नै सुरु भइसकेको छ र लाखौँ रकम जुटाउने लक्ष्य लिइएको छ । मेयर साम्पाङको प्रत्यक्ष उपस्थिति र सहभागिताले यो अभियानलाई थप उर्जा मिल्ने देखिन्छ । किरात राई यायोक्खा युकेले पनि एक करोड रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य घोषणा गरिसकेको छ।

यो भ्रमण इमान्दार र जनसेवामा लाग्ने असली नेताप्रतिको सम्मान र सहयोगको उत्कृष्ट उदाहरण हो । सयौं ठूला नेता, मन्त्री, र व्यक्तिहरू युके आउँछन् र जान्छन्, तर मेयर हर्क साम्पाङको युके भ्रमण सबै नेपालीहरूले विशेष महत्वका साथ लिएका छन्, जुन उनको श्रमदान अभियानको सफलतामा जनताको विश्वास र असली नेतामा हुनुपर्ने गुण प्रतिको आशालाई देखाउँछ ।

पार्टीको औपचारिक समर्थन नगरेका मेयर साम्पाङ छिट्टै पार्टी गठन गरेर राष्ट्रिय राजनीतिमा आउने विश्वास गरिएको छ । यो भ्रमणले धरानको पर्यटन र विकासका लागि थप सम्भावनाहरू खोल्ने विश्वास लिइएको छ र सबैले मेयर साम्पाङको सफल भ्रमण र अभियानका लागि उत्साहका साथ शुभकामना व्यक्त गरेका छन्।

– भूमिराज राई
मेडवे केन्ट युके

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!