
लन्डन २३ अक्टोबर २०२४ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको अभियानमा तमु धीं यूकेले दुई लाखभन्दा बढी सहयोग गरेको छ ।
सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियानले २० अक्टोबर २०२४ मा अल्डरसटमा आयोजना गरेको कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले सुम्निमा पारुहाङ प्रतिमा निर्माणका लागि २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेका हुन् । सहयोग रकमको चेक धरानका मेयर हर्क साम्पाङले ग्रहण गरेका छन् ।
सहयोग हस्तान्तरणका क्रममा तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरु कमल गुरुङ, ज्ञाम गुरुङ, रामचन्द्र गुरुङ, सुवाससिङ गुरुङ, नन्दजंग गुरूङ, ट्रस्टी सूर्य गुरुङ, वर्तमान वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरूङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा विशाल गुरूङ लगायत उपस्थित थिए । मेयर साम्पाङले धरानको चिन्डेडाँडामा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमाका लागि आर्थिक सहयोग संकलन जारी राखेका छन् ।
मेयर साम्पाङले मिचेटस्थित तमु धीं यूकेको भवन समेत अवलोकन गरेका छन् । धरान समाज युकेको निमन्त्रणामा गत बिहीबार साँझ लन्डन आइपुगेका मेयर साम्पाङ २ नोभेम्बरमा स्वदेश फर्कने कार्यक्रम छ ।






