एटा संवाददाता
अल्डरसट । निर्माणकै क्रममै अत्यन्तै चर्चामा रहेको नेपाली चलचित्र ‘बबी’ धेरै समयको पखाईपछि बेलायतवासी नेपाली दर्शकहरुले हेर्न पाएका छन् । गत आइतबार २३ सेप्टेम्बरका साँझ अल्डरसटस्थित एम्पायर हलमा सो चलचित्र प्रदर्शन गरिएको हो ।
नर्वे निवासी कविता गुरुङ र उमेश थापाको वास्तविक जीवनमा आधारित चलचित्र बबी नेपाली दर्शकबीच लोकप्रिय बनेपछि बेलायतवासी नेपालीहरु पनि सो चलचित्र हेर्न आतुर थिए । करीब ९०० जनाको सिट क्षमता भएको एम्पायर हल हाउस फुल भएको थियो ।

अन्तरजातीय विबाहका कारण बबीले भोगे जस्तै जीवन थुप्रैले भोगिरहेका छन् । चलचित्रले त्यो भोगाई, त्यो पीडा र वेदनालाई देखाउने प्रयत्न गरेको छ । आप्mनो जन्म दिने आमाबुबा टाढिँदाको अवस्था, मायाप्रेम र जीवन संघर्षको कथालाई चलचित्रले प्राथमिकतामा राखेको छ ।
आफ्नै जीवन कथामा आधारित चलचित्रमा अभिनय गरेका कविता र उमेशले आप्mनो कलालाई जोडदार रुपमा प्रस्तुत् गरेका छन् । त्यस्तै, कविताको काकाको भूमिकामा रहेका बिजय लामाको अभिनयलाई धेरैले प्रशंसा गरे ।
यस्तो खालको चलचित्रले नेपाली समाजलाई एउटै मालामा गाँस्न महत्वपूर्ण भूमिका खेल्न सक्ने धेरै दर्शकको बुझाई थियो । कविता र उमेशले आप्mनो कथा बाहिर ल्याएर उदाहरणीय काम गरेकोमा दर्शकहरुले उनीहरुको प्रशंसा गरे ।

अहिलेका सफल निर्देशक मिलन चाम्सको निर्देशनमा बनेको सो चलचित्रका छायांकन, गीतसंगीत, पटकथा र दृश्यहरुले चलचित्रलाई अझ माथि उठाएको छ ।
नेपाली समुदाय बेलायतका अग्रजहरु गंगा गुरुङ, शारदा गुरुङ र कृष्ण गुरुङ सुर्य गुरुङ र एस के गुरुङलगायतको सक्रियतामा प्रदर्शन गरिएको चलचित्रलाई तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ र सहारा युकेका अध्यक्ष मिन साइँला गुरुङले शुभारम्भ गरेका थिए ।






