
लन्डन ७ नोभेम्बर २०२४। नेपाली दूतावास लन्डनमा भूपू ब्रिटिस गोर्खाहरूका प्रतिनिधि (जी१०) र नयाँ उपनियोग प्रमुख विपिन दुवाडीबीच परिचयात्मक बैठक सम्पन्न भएको छ । ६ नोभेम्बर २०२४ मा उक्त बैठक बसेको हो ।
बैठकमा जी१० का तर्फबाट ब्रिटिस गोर्खा वेलफेयर सोसाईटीका अध्यक्ष मे.रि. टिकेन्द्र दल देवान जेपी, गेसोका अध्यक्ष कृष्ण कुमार राई, नेपाल सरकारबाट गोर्खाहरूका लागि नियुक्त धर्मबहादुर तामाङ, अनसनकर्ताद्धय धनबहादुर गुरुङ र पुष्प राणा घले सहभागी थिए ।
वार्ता सौहार्दपूर्ण वातावरणमा चलेको सहभागीले बताएका छन् । उपनियोग प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना मात्र भएका दुवाडीले ३५ बुँदालाई नेपाल सरकारले मान्यता दिएर बेलायत सरकार समक्ष बुझाएकोबारे अवगत गराएका थिए । उनले आफू जवाफको प्रतीक्षामा रहेकोसमेत जानकारी गराए । सहभागी सबैले पालैपालो आफ्ना भनाइ प्रस्तुत गरेका थिए ।
‘मेरो जन्म पनि गोर्खा जिल्लामा भएकाले गोर्खाहरूको मुद्दा मेरो पनि हो,’ उनले खुला भावमा बोल्दै भने’ ‘यस एजेन्डालाई प्राथमिकतामा केन्द्रित गर्नुपर्छ । भविष्यमा छिट्टै मिटिङ राखिनेछ र सबैको सहभागी जरुरी छ ।’






