प्रस्तुति: चिम्खोले काईला – बेलायत।
समाजसेवी तथा ब्यबसायी पदम सुन्दर गर्बुजा म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेका बर्तमान अध्यक्ष हुन्। उनि मोना युकेका ८ औं अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्र्वाचित भएका हुन्। गर्बुजा बेलायतको एक सफल ब्याबसायी पनि हुन् भने उनी Kent property Group Limited (KPGL) र KPGL – Letting Limited कम्पनीको मालिक तथा प्रबन्ध निर्देशक पनि हुन्।
पदम सुन्दर गर्बुजा म्याग्दी जिल्ला, धौलागिरी गाउँ पालिका वडा नम्बर ६ मराङ निवासी पिता भक्त बहादुर गर्बुजा र माता रजमती गर्बुजाको कोखबाट सन् १९७४ सालमा मराङमा जन्म भएको थियो। उनको बाल्यकाल मराङमै बितेको थियो भने उनको प्रराम्भिक शिक्षा तत्कालिन जन विकाश निम्न माध्यमिक बिद्यालय मराङबाट शुरु भएको थियो। गर्बुजाले कक्षा ७ उतिर्ण गरेपछि उनी जनप्रिय माध्यामिक बिद्यालय दरवाङमा कक्षा ८ मा भर्ना भै सोहि बिद्यालयबाट सन् १९९१ सालमा प्रवेशिका परिक्षा उतिर्ण गरेका थिए।
गर्बुजा प्रशिका परिक्षा उतिर्ण गर्नसाथ बृटिश आर्मीको गल्लावालासंग छाती नाप्न गएका थिए। छाती नापेको पहिलो प्रयासमा नै उनले सफलता प्राप्त गरि सन् १९९२ सालमा बृटिश आर्मीमा आबद्ध भएका थिए। गर्बुजाले हंगकंगको सेकोङस्थित मलाया लाइन्समा बृटिश आर्मीको आधारभूत तालिम सफलतापुर्बक उतिर्ण गरी सेकेण्ड गोर्खा राइफल्स (लाली पल्टन) मा आबद्ध भएका थिए।
गर्बुजाले केहि समय लाली पल्टनमा शेवा गरि उनी फेरि फस्ट बटालियन द रोयल गोर्खा राइफल्स (वान आरजीआर) को बि कम्पनीमा आबद्ध भएका थिए। बी कम्पनीमा केहि बर्ष शेवा गरे पश्च्यात उनी मोटर ट्रान्सपोर्ट (एमटी) प्लाटुनमा आबद्ध भएका थिए। एमटी प्लाटुनमा कार्यरत रहदा उनले वान आरजीआरका कमाण्डिङ अफिसरहरु कर्नेल साम क्रेन र लेफ्टेनेण्ट कर्नेल रो साहेबका निजि सवारी चालक बन्ने सुबर्ण मौका पाएका थिए। गर्बुजा लामो समयसम्म Operation Herrick र Defence School of Transport Leconfield मा बृटिश आर्मीले प्रयोग गर्ने सम्पूर्ण सवारी साधनहरु जस्तै: आरमर भेकल, बस, फोरटन, ल्याण्डरोभर, बाइक, फोक लिफ्ट क्वाड बाईकको प्रशिक्षकको रुपमा कार्यरत रहेका थिए।
पदम सुन्दर गर्बुजा बृटिश आर्मीबाट अवकाश प्राप्तपछि सन् २०१४ देखि मोना युकेमा आबद्ध भै कार्यसमितिको सदस्य, सह-कोषाध्यक्ष, कोषाध्यक्ष र उपाध्यक्ष जस्ता पदहरुमा दरिलो भूमिका निर्बाह गर्दै अक्टुबर सन् २०२४ मा अध्यक्षमा निर्वाचित भएका छन् भने उनी धौलागिरी गाउँपालिका कल्याणकारी सम्पर्क मंच युकेका संस्थापक अध्यक्ष हुन्। गर्बुजाले उनको कार्यकालमा फेसबुक अभियानद्वारा मराङ गाउँलाई सडक संजालले जोडेका थिए भने म्याग्दीमा बादीपहिरो जादा उनको गाउँ मराङमा हेलिकप्टरबाट तत्कालै राहतका सामाग्रीहरु उपलब्ध गराएका थिए।
पदम सुन्दर गर्बुजा श्रीमती शान्ति गर्बुजा, छोरी सोनी गर्बुजा र छोरा सनम गर्बुजासंग बेलायतको केण्टावरी भन्ने शहरमा बसोबास गर्दै आएका छन। उनले संसारका बिभिन्न मुलुकहरुको भ्रमण गरिसकेका छ। जस्तै: नेपाल, भारत, बेलायत, हंगकंग, ब्रुनाई, सिंगापुर, थाइल्याण्ड,मलेसिया, फिजी, कतार, दुवाई, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, साइप्रस, केन्या, बेलिज, बोजनिया, अफगानिस्थान, फ्रान्स, स्पेन, बेल्जियम, हल्याण्डलगायत यूरोपका थुप्रै देशहरुको भ्रमण गरिसकेका छन।
पदम गर्बुजा फुर्सदको समयमा गल्फ र बास्केटबल खेल्न रुचाउछन् भने वकिङलगायत बिभिन्न सामाजिक संस्थाका कार्यक्रमहरुमा व्यस्त हुन्छन । बचेका समय श्रीमती शान्ति गर्बुजा, छोरी सोनी गर्बुजा र छोरा सनम गर्बुजासंग देश विदेशको भ्रमण गर्न रुचाउछन ।






