
लन्डन २९ नोभेम्बर २०२४ । सदाझैँ यस वर्ष पनि विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित ईलमपोखरी समाज यूकेले ल्होछार मनाउने भएको छ ।
मुप्री ल्होछारको बिदाइ तथा सप्री ल्होछार आगमनको स्वागतार्थ आगामी २१ डिसेम्बरमा ल्होछार उत्सव आयोजना गर्ने समाजका अध्यक्ष परशु गुरुङले जानकारी दिए । कार्यक्रम सामुयल कोडी स्पोर्ट्स कलेज फार्नबोरोमा दिउँसो साढे १ बजे सुरु हुनेछ । त्यस अवसरमा नेपालबाट आएका चर्चित लोकदोहोरी गायिका रेजिना परियारका साथमा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ ।
तमुहरूको परम्परागत संस्कृति झल्काउने पूर्वी लमजुङमा अति लोकप्रिय सोरठी नृत्यसँगै राफल ड्र समेत हुनेछ । कार्यक्रममा समाजका सम्पूर्ण परिवार, चेलीज्वाइँ भाञ्जाभाञ्जी र अन्य ईष्टमित्रहरूलाई उपस्थित भएर सफल बनाइदिन समाजका अध्यक्ष गुरुङले आग्रह गरे । टिकटदर वयस्कका लागि २२ पाउन्ड र ६ देखि १२ वर्षसम्मका बालबालिकाका लागि १५ पाउन्ड तोकिएको छ ।






