
लन्डन २० डिसेम्बर २०२४ । तमु धीं यूकेको रजत महोत्सव तथा ल्होछार कार्यक्रमका लागि लोकप्रिय लोकपप गायिका तृष्णा गुरुङ बेलायत आएकी छन् । गायिका गुरुङ र उनको ब्यान्डले २८ डिसेम्बर २०२४ मा क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टर हुने तमु धीं यूकेको ल्होछार तथा रजत उत्सवमा आफ्नो बेजोड प्रस्तुति दिनेछ ।
तृष्णा आफ्नो ब्यान्ड ‘द कोल्याब ब्यान्ड’ सहित बिहीबार लन्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । टोलीलाई स्वागत गर्न तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, ल्होछार कार्यक्रमका प्रमुख संयोजक कमल गुरुङ, तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, ट्रष्टी सूर्य गुरुङ र सल्लाहकार दिलराज गुरुङलगायत विमानस्थलमा पुगेका थिए ।
विमानस्थलबाट सिधैं गोर्खा प्यालेसमा पुगेका उनीहरुलाई तमु धीं यूकेका निवर्तमान अध्यक्ष हरि गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र गुरूङलगायतले पनि स्वागत गरेका थिए ।







