
- नगेन्द्र नेम्वाङ
लन्डन (याल्डिङ मेडेस्टोन) २३ डिसेम्बर २०२४ । बेलायतमा किरात याक्थुङ चुम्लुङ युकेले भव्य रुपमा चासोक तङ्नाम
मनाएको छ ।
शनिबार २१ डिसेम्बरमा कियाचुले औपचारिक कार्यक्रम आयोजना गरी आफ्नै चुम्लुङदेनमा चासोक तङ्नाम मनाएको हो ।
कार्यक्रमको पहिलो चरणमा किरात धर्म तथा साहित्य उत्थान संघ युकेका प्रमुख सल्लाहकार रामसिङ थेबेको नेतृत्वमा सावा साम्बा समूहद्वारा विधिवत् रुपमा पूजा आराधना गरी चासोक तङ्नाम मनाइयो ।

अघ्यक्ष कमला सेन्दाङ लिम्बु र प्रमुख अथिति नरकुमारी लिम्बुले पानसमा दिप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । सचिव महेश वनेमले हेल्थ एन्ड सेफ्टीबारे जानकारी गराउँदै नेपाल र ब्रिटेनको राष्ट्रिय गान बजाएर कार्यक्रम सुरुवात गरेका थिए ।
गोर्खा मेजर रिटायर्ड चितराज हुक्पा चोङ्बाङलाई किरात याक्थुङ चुम्लुङ युकेलाई उनले भौतिक, बौद्धिक रुपमा पुर्याएको अमूल्य योगदानलाई मूल्यांकन गर्दै खादा ओडाइ सम्मान गरिएको थियो । वेन्सा चुम्भो अध्यक्ष हाङमा लावतीले चासोक तङ्नाम किन, कहिलेबाट र तङ्नामको महत्वबारे प्रस्ट्याएका थिए भने उपाध्यक्ष सानु सुब्बाले तेअङ्सी श्रीजङ्गाको परिचय दिएका थिए ।
कार्यक्रममा पूर्वअध्यक्षहरु ले. रिटायर्ड सिरी लिम्बु, सुभाशचन्द्र जबेगु, तिलबिक्रम सम्बाहाङ्फेलगायत बेलायतवासी लिम्बुहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रमुख अथिति नरकुमारी लिम्बुले शुभकामना मन्तव्य राखेकी थिइन् भने अध्यक्ष कमला सेन्दाङ लिम्बुले पनि चासोक तङ्नामको शुभकामना आदानप्रदान गर्दै कार्यक्रम सफल पार्न खटेका कार्यसमिति सदस्यहरुलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रमको बिट मारेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा सांस्कृतिक विभाग प्रमुख भक्ति आङ्देम्बेको समूहले लिम्बुहरुको लोकप्रिय च्याब्रुङ नृत्य देखाएको थियो भने नेपालबाट आएका कलाकारहरु गायक ब्रबिम सेर्मा, गायिकाद्वय गङ्गा फियाक र अमृता सम्बाहाङ्फेले लिम्बु पालाम गीतलगायत विभिन्न नेपाली गितहरु गाएर भरपुर मनोरन्जन दिलाएका थिए ।
अथिति कलाकारहरुलाई अध्यक्ष सेन्दाङले खादा ओडाइ प्रशंसापत्र प्रदान गरी सम्मान गरेकी थिइन् । कमला सेन्दाङ्को अध्यक्षतामा सम्पन्न चासोक तङ्नामको औपचारिक कार्यक्रम महासचिव विश्वासदीप तिगेलाले सन्चालन गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष राजेन्द्र लाबुङले राखेका थिए । मनोरन्जन कार्यक्रम उपाध्यक्ष सानु सुब्बाले सञ्चालन गरेकी थिइन् ।






