यसरी मनायो तमु समाज यूकेले सप्री ल्होछार/ल्होसार

SHARE:

शिवकुमार गुरुङ
लन्डनल ७ जनवरी २०२५ । तमु समाज यूकेले तमु तथा नेपालीहरूको महान् सांस्कृतिक पर्व सप्री ल्होछार/ल्होसार भव्य रूपमा मनाएको छ । लन्डनस्थित ह्यारो लेजर सेन्टरको बाईरोन हलमा गत शनिबार ४ जनवरीमा मनाएको हो ।

काउन्सिल लिडर लन्डन बारो अफ ब्रेन्टका काउन्सिलर मोहमेद बटको प्रमुख आतिथ्यमा सम्पन्न भएको बृहत् कार्यक्रम उद्घाटन प्रमुख अतिथि, समाजका अध्यक्ष बिन्दु कुमारी गुरुङ घले र संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए । उद्घाटनका अवसरमा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो ।

समाजका अध्यक्ष बिन्दु कुमारी गुरुङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम सञ्चालन महासचिव सुब घलेले गरेका थिए । निवर्तमान महासचिव धरमबल गुरुङले सहयोग गरेका थिए । आरम्भमा उपाध्यक्ष तथा ल्होछार कार्यक्रम संयोजक केदार बहादुर गुरुङले हेल्थ र सेफ्टीसम्बन्धी जानकारी दिएका थिए । त्यसपश्चात् स्वागत मन्तव्य राख्दै तमु ल्होछार सेलेब्रेसन र संस्थाको बारेमा सबैलाई संक्षिप्त जानकारी गराएका थिए ।

कार्यक्रममा प्रत्यक्ष उपस्थित भएर वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने संघसंस्थाका महानुभाव, समाजका पदाधिकारी तथा सदस्यलाई अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले धन्यवाद दिएकी थिइन् । सो अवसरमा सम्मानित सबैलाई उनले बधाई तथा थप प्रगतिको शुभकामना व्यक्त गरिन् ।

प्रमुख अतिथि लिडर अफ लन्डन बरो अफ ब्रेन्टका काउन्सिलर मोहमेद बटले तमु समाज युकेले आयोजना गरेको भव्य कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । तमु समाज यूकेले संस्थागत रूपमा ब्रेन्ट काउन्सिलमा धेरै साथ र सहयोग दिँदै आएको र समाजलाई काउन्सिलले पनि आवश्यक सहयोग गरिरहेको उनको भनाइ थियो । उनले भविष्यमा पनि समाजलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउँदै ल्होछार र अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिए । प्रमुख अतिथिले कलाकारले गरेको नृत्यको पनि प्रशंसा गरेका थिए ।

विगतमा जस्तै यस वर्षको सप्री ल्होछार कार्यक्रमको अवसरमा नयाँ आजीवन सदस्यलाई सदस्यताको प्रमाण पत्र तथा समाजको लोगो अंकित ब्याज वितरण गरी औपचारिक रूपमा स्वागत गरिएको थियो। यसको अलावा शैक्षिक सत्र २०२४ मा स्नातक तथा स्नातकोत्तर तहमा सफलता प्राप्त विद्यार्थी तथा विगतमा सामाजिक जीवनको विभिन्न पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै सामाजिक सेवा र संस्थाको विकासमा योगदान पुर्‍याउने महानुभावलाई तमु समाज यूके विशिष्ट समाज सेवा सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड – २०२५), तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मानपत्र २०२५ तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि, समाजका अध्यक्ष, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्र बहादुर गुरुङ र आमा समूहका अध्यक्ष विमला गुरुङले सम्मान तथा प्रशंसापत्र वितरण गरेका थिए । समाजको स्थापनादेखि अनवरत रूपमा विभिन्न महत्त्वपूर्ण पदमा रहेर योगदान गरेका सामाजिक अभियन्ता तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ र पूर्व उपाध्यक्ष तथा सल्लाहकार कन्या प्रसाद गुरुङलाई तमु समाज युके विशिष्ट समाज सेवा सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२५) बाट सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्व र उनीहरूका धर्मपत्नीलाई प्रमुख अतिथि, समाजका अध्यक्ष, संस्थापक अध्यक्ष र आमा समूहका अध्यक्षले विशिष्ट सम्मानपत्र प्रदान गर्दै फेटा, खादा र दोसल्ला ओढाएर पुष्पगुच्छाले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा निवर्तमान अध्यक्ष शिव कुमार गुरुङले धन्यवाद तथा शुभकामना मन्तव्य दिएका थिए ।

मन्तव्यमा उनले तमु समाज यूकेको स्थापनादेखि विभिन्न महत्त्वपूर्ण पदमा रही सेवाको कार्यमा योगदान गरेको मूल्यांकन गरी आफूलाई तमु समाज यूकेको सर्वश्रेष्ठ सम्मान ‘Lifetime Achievement Award 2025’ बाट सम्मानित गरेकामा समाजका अध्यक्ष, संस्थापक अध्यक्ष लगायता पूर्व तथा वर्तमान पदाधिकारी र सदस्यप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरे । यस सम्मानले आफूलाई आगामी दिनमा पनि निरन्तर रूपमा सामाजिक सेवामा लागिरहन ऊर्जा तथा उत्प्रेरणा प्राप्त भएको उनको भनाइ थियो ।

यसैगरी तमु समाज यूकेले प्रत्येक वर्ष ल्होछारको अवसरमा सामाजिक जीवनको विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मानबाट सम्मान गर्ने गरेको छ । यस वर्ष उत्कृष्ट समाज सेवा सम्मानपत्र २०२५ बाट सल्लाहकारहरू लेख गुरुङ, कमल बहादुर गुरुङ र नारायण सिंह गुरुङ, आमा समूहका कार्यसमितिका सदस्य लक्ष्मी गुरुङ र युवा समूहका निवर्तमान अध्यक्ष ओमकार गुरुङलाई तमु समाज युके उत्कृष्ट समाज सेवा सम्मानपत्र २०२५ बाट सम्मानित गरिएको थियो ।

यसैगरी तमु धीं युकेको रजत जयन्ती उत्सव कार्यक्रममा नेपालबाट आएका तमु धीं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, सप्रि ल्होछार उत्सव कार्यक्रममा तमु समाज युकेको निमन्त्रणामा बेलायत आएका तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङ र मन्जुश्री बालबालिका संरक्षण केन्द्रका संस्थापक तथा प्रबन्ध निर्देशक माया (दोर्जे डोल्मा) गुरुङलाई तमु समाज युकेमा स्वागत तथा उनीहरूले नेपाली समुदायलाई पुर्‍याएको योगदानको कदर गर्दै तमु समाज युके विशिष्ट समाज सेवा सम्मान पत्र २०२५ बाट सम्मानित गरिएको थियो ।

सम्मान कार्यक्रमको अवसरमा तमु धीं नेपालका अध्यक्ष हुम बहादुर गुरुङले शुभकामना मन्तव्य दिएका थिए । मन्तव्यमा उनले तमु समाज युकेले प्रदान गरेको सम्मान सधैँ शिरोपर गरेर सकारात्मक भावनाका साथ तमुहरू र सबै नेपालीको हितका लागि काम गर्ने प्रेरणा मिलेको बताए ।

तमु समाज युकेले आमन्त्रण गरेकोमा आभार व्यक्त गर्दै तमुहरू जहाँ रहे पनि एक भएर अगाडि पढ्नुपर्ने र विभिन्न संस्थामा आबद्ध भएता पनि भावना एक हुनुपर्नेमा उनले जोड दिए । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङले तमु समाज युकेले आफूलाई युकेमा निमन्त्रणा गरेकोमा धन्यवाद तथा आभार व्यक्त गरे । उनले आफूले नेपालबाट ल्याएको मायाको चिनो तमु समाज युकेका अध्यक्षलाई प्रदान गरे । उनले गुरुङ भाषामा मन्तव्य राख्दै तमु एकतामा जोड दिँदै भावी सन्ततिलाई आफ्नो भाषा, धर्म संस्कार, संस्कृति र परम्परालाई जोगाइ राख्नुपर्नेमा जोड दिए ।

अतिथि तथा तमु समाज यूकेका शुभचिन्तक साथै तमु समाज युकेलाई विशेष प्रकारको सहयोग पुर्‍याउँदै आएका ब्रेन्ट काउन्सिल किङ्सबरि वडाका काउन्सिलर सकिब बटलाई अध्यक्ष र प्रमुख अतिथिको बहुलिबाट खादा लगाएर मायाको चिनो कोथिमारा खुकुरी प्रदान गरेर सम्मान गरेका थिए ।

472547055_1068049475093096_827922432741948419_n-1736181148.jpg
यसैगरि विभिन्न संघ संस्थाका नवनिर्वाचित अध्यक्षहरूमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु धीं युके आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ, पत्रकार महासंघ युके अध्यक्ष विमला सेने र तमु समाज यकेका आजीवन सदस्य बुद्धीराज घले British Army Warrant Officer Class 2(WO2) बाट British Army Captain पदमा पदोन्नति भएकोमा उनी र उनको धर्मपत्नी डिना गुरुङ घलेलाई खादा फेटा र दोसल्ला ओढाई पुष्पगुच्छा प्रदान गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङले शुभकामना तथा धन्यवाद मन्तव्य दिएका थिए । मन्तव्यमा उनले समाजले आफूहरूलाई बधाई तथा सम्मान गरेकामा आभारसहित धन्यवाद व्यक्त गरे । तमु धीं युके र तमु समाज युकेको सम्बन्ध प्रगाढ हुँदै गएको र सबै तमुहरू एक हुनुपर्नेमा जोड दिए।

सांस्कृतिक तथा मनोरञ्जन कार्यक्रममा पूर्व सांस्कृतिक सचिव तथा तमु चलचित्रका नायिका सरु गुरुङ रानाको कोरियोग्राफीमा तमु समाज युकेको आमा समूह, युवा समूह तथा गोर्खा जिल्ला गुरुङ समाज युकेका सौजन्यमा स्थानीय युवा कलाकारबाट र नेपालबाट आएका डान्सर तथा कोरियोग्राफर शेखर घर्तिमगरको नृत्य प्रस्तुत गरिएको थियो ।

सांस्कृतिक कार्यक्रमको अर्को आकर्षण नेपालबाट आएका लोक गायक तथा गायिका विमला गुरुङ, शीतल गुरुङ र हरिमाया गुरुङको जोडदार प्रस्तुति रहेको थियो । उनीहरूको गीतमा उपस्थित सबैले नाचेर साथ दिएका थिए । नेपालबाट आएका लोकदोहोरी गायकहरू गोर्खा जिल्ला गुरुङ समाज युकेले सौजन्य गरेको थियो ।

तमु समाज युकेका पूर्व सांस्कृतिक सचिव सरु गुरुङ रानाको कोरियोग्रफि र आमा समूहकी अध्यक्ष विमला गुरुङ को व्यवस्थापनमा प्रस्तुत नृत्य तथा सांस्कृतिक कार्यक्रमको सञ्चालन निरज गुरुङ र मिस्टी गुरुङले गरेका थिए।

यस बर्षको सप्री ल्होछार सेलेब्रेसन कार्यक्रममा विशेष अतिथिको रूपमा रोयल बरोअफ ग्रिनविचका मेयर काउन्सिलर जित रानभाट, मेयरेस गउमाया गुरुङ रानाभाट, पूर्बमेयर तथा काउन्सिलर बिष्णु गुरुङ, काउन्सिलर कमल बहादुर गुरुङ, काउन्सिलर सकिब बट, गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष हितकाजी गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरङ, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. रि. डेम बहादुर गुरुङ, गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष नम्रता घले, पत्रकार महासंघ युकेका अध्यक्ष विमला सेने, तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको विशेष उपस्थितिसहित अन्य ६० भन्दा धेरै संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए ।

बृहत् सप्री ल्होछार कार्यक्रममा समाजका सदस्य, परिवार र नेपाली तथा तमु समुदायको ठूलो संख्यामा उपस्थिति थियो । कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न समाजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारी, युवा समूह, आमा समूहका साथै र समाजको शुभेच्छुकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ल्होछार कार्यक्रममा यस पटक युवा समूहका अध्यक्ष प्रज्ज्वल मान गुरुङ र उपाध्यक्ष प्रशान्त गुरुङको संयोजकत्वमा युवा समूहको तर्फबाट बालबालिकालाई मनोरन्जनका लागि विभिन्न प्रकारका खेलको आयोजना र ल्होछार उपहारको व्यवस्थापन गरेको थियो ।

सप्री ल्होछार सेलेब्रेसन सांस्कृतिक कार्यक्रममा उत्कृष्ट नृत्य गरेका कलाकारहरु सरु गुरुङ राना, विमला गुरुङ, रितु गुरुङ, कमला गुरुङ, प्रजु गुरुङ, सुजिता गुरुङ, ओसिअन राना, ओसिस राना, सुमि गुरुङ, जरिना गुरुङ, सुबिना घले, अर्जुन कुमार गुरुङ, श्रीडेविड गुरुङ र गोर्खा जिल्ला गुरुङ समाज युकेका युवा कलाकारहरू दिवस गुरुङ, अरुप क्षेत्री, अभिशा गुरुङ, सुसान गुरुङ र नेपालबाट आएका अतिथि कलाकार शेखर घर्तिमगर, शीतल गुरुङ, विमला गुरुङ, र हरिमाया गुरुङलाई धन्यवादसहित खादा र कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा ओमकार गुरुङ, टेक बहादुर गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले फोटोग्राफी गरेका थिए । भिडियोग्राफी बिसन गुरुङ र साउन्ड सिस्टमको व्यवस्थापन विशाल मोक्तान र प्रज्वल गुरुङले गरेका थिए । खानाको व्यवस्थापन रारा केटर्सका प्रोप्राइटर प्रताप रायमाझी र सहयोगीले गरेका थिए । पेय पदार्थको बिक्री वितरण तमु समाज युके युवा समूहले गरेका थिए ।

दिउसो साढे चार बजे आरम्भ भएको कार्यक्रमको अन्त्यमा सबैले प्रज्ज्वल मान गुरुङ र विशाल मोक्तानले डीजेमा नाचेर मध्यरातसम्म भरपुर मनोरञ्जन लिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!