लन्डन १० जनवरी २०२५ । मगर संघ यूके यूएचएसबी शाखाले शनिबार माघे संक्रान्ति पर्व मनाउँदै छ ।
धार्मिक पूजापाठ, विभिन्न सांस्कृतिक कार्यक्रमसहित मगर संघ यूएचएसबीले ११ जनवरी २०२५ मा फार्नबोरोस्थित स्यामुयल कोडी स्पेसलिस्ट स्पोर्ट्स कलेजमा विशेष समारोह आयोजना गरी माघे संक्रान्ति मनाउन लागिएको हो । उक्त कार्यक्रमका लागि नेपालबाट चर्चित कलाकारहरु प्रसाद खप्तरी मगर र देवी आले मगर बेलायत आइपुगेका छन् ।
बिहीबार लन्डनस्थित एयरपोर्ट ओर्लिएका प्रसाद र देवीलाई मगर संघ यूएचएसबी शाखा अध्यक्ष ऋषिराम राना, सल्लाहकार क्याप्टेन वीरबहादुर मगर, संस्थाका उपाध्यक्ष तथा माघे संक्रान्ति कार्यक्रम संयोजक बिर बलाल, उपाध्यक्ष धना रोका, पूर्वअध्यक्षहरु ताम ढेगा, लेख राना, संस्थापक उपाध्यक्ष ओम थापा काउछा, वर्तमान सचिव गणेश बुढाथोकी मगर, कोषाध्यक्ष गोपबहादुर सिञ्जालीमगर, पूर्वमहिला अध्यक्ष छविमाया पुन, शाखा सल्लाहकार टेक थापा, मगर संघ यूकेका युवा अध्यक्ष अनिल थापासहित आयोजक संस्थाका पदाधिकारी र सदस्यहरुले विमानस्थलमा स्वागत गरेका थिए ।

लन्डन उत्रिएपछि गायिका देवीले उत्साहित हुँदै भनेकी छन्, ‘ल है हजुर हामी लण्डन आइपुग्यौ । पर्सि ११ जनवरीमा भेट्नु पर्छ है । हाम्रो पर्व, राम्रो पर्व माघेसंक्रान्ति मनाउनका लागि ।’ यस्तै गायक खप्तरीले फानबोरोस्थित कार्यक्रमस्थलमा आउन आग्रह गरे ।
मगर संघ यूएचएसबी शाखाले हरेक वर्ष संक्रान्ति वार्षिक रुपमा मनाउँदै आएको अध्यक्ष ऋषिराम रानाले जानकारी दिए । उनले कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै चाड मनाउँदै रमाउन आग्रह गरेका छन् ।
संयोजक बलालले कार्यक्रम सम्पूर्ण तयारी पूरा भएको जनाउँदै विगतजस्तै धुमधाम हुने बताए । उनले कार्यक्रम बिहान ९ बजेदेखि नै पूजा हुने र १ बजेदेखि औपचारिक कार्यक्रम हुने बताए । उनका अनुसार सांस्कृतिक कार्यक्रम करिब दिउँसो ४ बजेदेखि हुने छ ।






