बेलायतमा केन्टवासी मगरहरुले धुमधामले मनाए माघे सङ्क्रान्ति

SHARE:

तुलसीराज मगर

केन्ट, लन्डन । मगर संघ युके केन्ट शाखाले वि. सं. २०८१ सालको माघे सङ्क्रान्ति पर्व धुमधामले मनाएको छ । फोल्कसटोनस्थित हकिन्स कम्युनिटी सेन्टरमा १८ जनवरी २०२५ मा आयोजित विशेष समारोहमा सांगीतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति मनाइएको हो ।

प्रमुख अतिथि मगर संघ युके केन्द्रीय समितिका अध्यक्ष सीता पुन मगर र मगर संघ युके केन्ट शाखाका अध्यक्ष रिटायर्ड मेजर प्रेम आलेद्वारा संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गरिएको थियो । कार्यक्रममा मगर संघ युके केन्ट शाखाका निवर्तमान अध्यक्ष, भूतपूर्व अध्यक्ष, विद्वान्, व्यापारीलगायत गन्यमान्य व्यक्तित्वहरुको उपस्थिति थियो ।

मगर पितृहरुको सम्झना स्वरुप मौन धारणा गरिएपछि कार्यक्रम अघि बढाइएको थियो । केन्ट शाखाका सचिव बिनम राना मगरले संचालन गरेको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रिम काउचा मगरले गरेका थिए ।

कार्यक्रममा केन्ट एरियामा बसोबास गर्ने मगरहरुका छोराछोरी जसले शिक्षा क्षेत्र, खेलकुद क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका थिए, उनीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ए लेभल दीक्षित हुने मार्भिन रोका मगर, स्नातक तह दीक्षित गर्ने प्रियान्शु थापा र सालीना मगर थिए । स्नातकोत्तर उत्तीर्ण गर्नेमा रोशन थापा र आविशा मगरलाई पनि सम्मान गरिएको थियो ।

खेलकुदतर्फ तेक्वान्दो फस्ट डन ब्ल्याक बेल्ट लिन सफल रिया थापा मगर पनि सम्मानित भएकी थिइन् । सामाजिकतर्फ मगर संघ युकेका केन्द्रीय समितिका अध्यक्ष सिता पुन मगरलाई उत्कृष्ट महिला नेतृ साथै पहिलो मगर महिला अध्यक्ष भनेर सम्मान गरिएको थियो ।

त्यस अवसरमा ब्रिटिस इम्पायर मेडल (एमबिई) साथै प्राइड अफ ब्रिटिस अवार्डबाट सामानित हरि बुढामगर सम्मानित भएका थिए । सैन्य सेवातर्फ पदोन्नती भएर उल्लेखनीय सफलता हासिल गर्ने मेजर किरन पुन, क्याप्टेन कृष्ण पुन, क्याप्टेन जयन्द्र पुन, फ्लाइट ल्याप्टिनेन्ट पाइलट सुदीप आले, डब्लु ओ वान शेर बहादुर ताङ्नामी मगर पनि सम्मानित भएका थिए ।

प्रमुख अतिथि सिताले कार्यक्रममा उपस्थित सम्पूर्णलाई माघे सङ्क्रान्तिको शुभकामना दिनुका साथै संसारको जुनै कुनामा छरिएर रहे पनि आफ्नो पुर्खाहरुले छोडेर गएका संस्कार, संस्कृति, कला पहिचानको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गरिनु कर्तव्य भएको बताइन् ।

विभिन्न व्यक्त्ति तथा व्यावसायिक कम्पनीद्वारा प्रायोजन गरिएका आकर्षक उपहारबाट राफल ड्र गरेर कार्यक्रमको रौनकता झनै बढाइएको थियो । मगर संघ युके केन्ट शाखा स्थापना भएको १९ औं वर्षगाँठको अवसरमा केक काटेर खुशियाली मनाइएको थियो ।

मौलिक पहिरनमा सजिएका मगरहरुको जमघटको साथमा माघे परिकार खाँदै मगर सांस्कृतिक कार्यक्रम कौराह, पैसारु, हुर्रा, मारुनी, सालैजोजस्ता मौलिक गीतसंगीतको तालमा सबै जस्तो सहभागीहरु रमाइरहेका देखिन्थे । कार्यक्रममा मेडिस्टोन, फोल्क्सटोन, आस्फोर्ड, क्यान्टबुरी, टनब्रीज, डोभरलगायत विभिन्न ठाउँमा बस्ने मगरहरुको उपस्थिति थियो ।

कार्यक्रमलाई थप रोचक र मनोरन्जन गराउन नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका देवी आले मगर, लोकगायक प्रसाद खप्तरी मगर, भबिकला घर्ती र युकेलाई कर्मथलो बनाएका चर्चित लोकदोहोरी गायक मनसुदन थापाले प्रस्तुति दिएका थिए । आमन्त्रित कलाकारहरुले आफ्ना चल्तीका गीतहरु गाएर सहभागी धेरैजसोलाई नचाएका थिए ।

औपचारिक कार्यक्रमपश्चात सुरु भएको मनोरन्जनात्मक कार्यक्रम सुरुआत मगर राष्ट्रिय गीतबाट भएको थियो । उक्त कार्यक्रमलाई सांस्कृतिक विभागका संयोजक मोहन थापाले संयोजन गरेका थिए ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!