
लन्डन २५ जनवरी २०२५ । बेलायतवासी तामाङ समुदायले आज शनिबार २५ जनवरीमा संयुक्त रुपमा सोनाम ल्होछार मनाउँदै छन् ।
यहाँ सक्रिय तामाङ समाज युके, तामाङ घेदुङ युके, म्हेन्दोमाया परिवार युके, ल्हा म्हेन्दो तामाङ समाज युके र रेप केन्ट ह्युल्बाले यो वर्ष मञ्जश्री सम्वत्-२८६१ डुल/सापुख्री ल्हो (सर्प वर्ग) को स्वागत गर्दै संयुक्त रुपमा तामाङ जातिको महान् राष्ट्रिय सांस्कृतिक पर्व ल्होछार विविध कार्यक्रम गरी मनाउन लागेका हुन् ।
लन्डनस्थित ह्यारो लिजर सेन्टरमा शनिबार बिहान ११:३० देखि लामागुरु कर्म वान्ग्देल र उनको टिमले पूजा सुरु गर्नेछ भने वाङ वितरण पूजापाठ ढोकभेटपश्चात् दिउँसो २ बजेदेखि औपचारिक कार्यक्रम सुरु हुनेछ । मिठा तामाङ परिकार छोहोका साथै भोजनको व्यवस्था साथै सांस्कृतिक कार्यक्रम राति अबेरसम्म चल्ने आयोजकले जनाएका छन् ।
कार्यक्रमका लागि नेपालसहित विभिन्न देशबाट राष्ट्रिय कलाकारहरु बेलायत आएका छन् । चर्चित सेलो गायक चन्द्रकुमार दोङ, इन्डियन आइडल सिजन ३ विजेता प्रशान्त तामाङ लन्डन आइपुगिसकेका छन् ।
दोङ बिहीबार र प्रसाद शुक्रबार बेलायत उत्रिएका हुन् । सोनाम ल्होछार कार्यक्रममा चन्द्रकुमार, प्रशान्तसहित सिङ्गीङ स्टार सिजन १ विजेता ऋतु लामा, कुमार योन्जन, कृष्ण पाख्रिन, सानु वाइबा, रश्मी तामाङ, कमला पाख्रिन घले, सुसन तामाङ र संगीता मगरको प्रस्तुतिका साथ म्हेन्दोमाया र सेलो नृत्य विशेष आकर्षण रहने आयोजकले जनाएका छन् ।






