
लन्डन ३१ जनवरी २०२५ । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेसँग नेपाली व्यवसायी तथा अभियन्ताहरुले
अन्तरक्रिया गरेका छन् ।
बिहीबार साँझ क्यानरी वार्फस्थित होली काउ फाइन डाइनमा आयोजित कार्यक्रममा उनीहरुले राजदूत घिमिरेलाई सफल कार्यकालको शुभकामना दिंदै लन्डनमा औपचारिक स्वागत गरे ।
अन्तरक्रियामा व्यवसायी तथा पेशेवरहरुले गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएका जटिलता र नेपालमा वैदेशिक लगानीका प्रशासनिक झण्झट, बेलायत–नेपाल सम्बन्ध जनस्तरमा थप प्रगाढ बनाउन बेलायतस्थित नेपाली डायस्पोराको भूमिका, नेपालको आर्थिक समृद्धिमा सरकारको अपेक्षा, भूतपूर्व गोर्खा समस्या आदि विषयमा धारणा राखे ।
नेपालले विदेश बस्ने नेपालीलाई नेपाली भनेर स्वीकारेन भने त्यो देशका लागि घाटा हुने पनि सहभागीको तर्क थियो ।
राजदूत घिमिरेले नेपाल र नेपालीका लागि लाभ हुने गरि आफूले राजनीतिक, आर्थिक एजेण्डा लिएर आएको उल्लेख गर्दै व्यवसायीहरुलाई नेपालमा लगानीको सहजीकरण गरिदिने प्रतिवद्धता जनाए ।
राजदूत घिमिरेले बेलायत र नेपाल दुवै पक्षबाट उच्चस्तरिय भ्रमण, लामो समयदेखि थाती रहेको भूतपूर्व गोर्खा समस्या समाधानमा पहल गर्ने आश्वासन दिएका थिए ।
राजदूतले अब मातृभूमिका लागि डायष्पोराले संवेदनशील भएर काम गर्नुपर्ने बेला आएको समेत बताए ।
गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली नागरिकता कार्यान्वयका जटिलता प्रस्तुत गर्दै संविधानले दिएको अधिकार समेत उपभोग गर्न नपाइएको बताए । होली काउ ग्रुपका अध्यक्ष आचार्यले नेपालमा लगानी गर्न यहांको नेपाली डायष्पोरा आफैं सक्षम रहेको समेत बताए ।






