प्रस्तुति : चिम्खोले काइँला
बृटिश आर्मीबाट अवकाश प्राप्त लेफ्टेनेन्ट कर्नेल तोल बहादुर खाम्चा मगर [clear]बेलायतको राजा चाल्स तृतीयको आन्तरिक सुरक्षा दलमा तथा किङ्स गार्डमा आबद्ध भएका छन्। उनि बिभिन्न चरणको छनोट प्रकृयाहरु पार गर्दै राजा चाल्स तृतीयको आन्तरिक दलमा छनोट भएका हुन्। यसरी बेलायतको राजसंस्थाको आन्तरिक सुरक्षा दलमा आबद्ध हुने खाम्चा मगर पहिलो नेपाली तथा गोर्खाली हुन्।
कर्नेल खाम्चा मगरले २० फेब्रुरी २०२५ देखि आपनो कार्यभार सम्हाल्ने बताएका छन्। राजा चाल्स तृतीय संलग्न हुने हरेक अफिसियल समारोहहरुमा खाम्चा मगरले आन्तरिक बृतको सुरक्षाको जिम्मेवारी सम्हाल्ने छन्। कर्नेल खाम्चा मगर हेड अफ स्टेडको भिजिट हुने समयमा, संसद शुरु हुने समयमा, राजाले सम्बोधन गर्ने समयमा र राजपरिवारको स्वर्गारोहण भएको समयमा संलग्न हुने छन् भने किङ्स गार्डको सेरमोनियल ड्युटीको क्रममा किङ्स गार्डको समुहसंग संलग्न हुनेछन्। कर्नेल खाम्चा मगर अबदेखि रोयल हाउस होल्डको तथा राजकीय सदस्यमा आबद्ध हुने भएका छन्।
गोर्खालीहरु ब्रिटिस आर्मीमा सेवा गरेको २१० वर्षको इतिहासमा तोल खाम्चा चौथो लेफ्टेनेन्ट कर्नेल हुन् । यसभन्दा पहिला लालबहादुर पुन, विजय रावत, यामबहादुर राना लेफ्टिनेन्ट कर्नेलको दर्जामा पदोन्नति भएर पनि निवृत्त भइसकेका छन्।
स्वर्गीय पिता चन्द्रवीर खाम्चा र माता नरमता खाम्चाको कोखबाट स्याङ्जा जिल्ला शिरकोट करादिमा वि.स. २०२५ मा तोलबहादुर खाम्चाको जन्म भएको हो । तोल खाम्चाको प्रारम्भिक शिक्षा गाउँमा आफ्नै जग्गामा बाबाको सक्रियतामा बनेको स्कुलमा कक्षा तीनसम्म, पयुँखोला हटियामा अवस्थित श्री जनसेवा निम्न माध्यमिक विद्यालयमा चार कक्षामा अध्ययन गरेका थिए । तोलबहादुर खाम्चा बुटवलको कालिका नमुना माध्यमिक बिद्यालयबाट पाँच कक्षामा भर्ना भई सोही स्कुलबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । त्यसपश्चात् ललितपुरको पुल्चोकस्थित इञ्जिनिरिङ क्याम्पसबाट ओभरसियर अध्ययन पूरा गरेका छन् ।
अध्ययनको सिलसिलामा साथीभाइको लहैलहैमा ब्रिटिस आर्मीमा छाती नाप्न पुगेका तोल खाम्चा कलरक तथा टेक्निसियनमा सन् १९८७ मा बृटिश आर्मीमा आबद्ध भएका थिए । बृटिश आर्मीको आधारभूत शिक्षा तथा तालिमपश्चात् कुइन्स गोर्खा सिग्नल रेजिमेन्टमा भर्ना भई धेरै वर्षसम्म विभिन्न क्वालिफिकेसन लिनुको साथै विभिन्न स्थान तथा दर्जामा रहेर टेक्निसियनको भूमिका निर्वाह गरेका छन् । बहादुरी, इमानदारी, बफादारी र लगनशील तोलबहादुर खाम्चा १५ वर्षमै अफिसर दर्जामा पदोन्नति भएका थिए भने टेक्निसियनमा उनले जेनेरल इलेक्ट्रोनिक कम्पनी (जीईसी) को क्वाकिफिकेसन लिएका छन् । जसको मान्यता डिप्लोमा सरह हुन्छ । कलिलो उमेरमा कमिसन भएको कारणले गर्दा उनलाई पल्टनले देश तथा विदेशमा विभिन्न खाले जिम्मेवारीहरु सुम्पिएको थियो । पल्टनले सुम्पिएको जिम्मेवारीहरु सफलतापूर्वक निर्वाह गरेको कारणले उनलाई कुइन्स गोर्खा सिग्नल रेजिमेन्टको गोर्खा मेजरको जिम्मेवारी वहन गर्ने शौभाग्य पनि मिलेको थियो ।
गोर्खा सिग्नल रेजिमेन्टको गोर्खा मेजरको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेपछि उनी इराकको बग्दादमा अमेरिकन आर्मीको हेर्डक्वाटरमा ब्रिटिस आर्मीको तर्फबाट चिफ अफ स्टाफको भूमिका निर्वाह गरेकोमा गर्व गर्छन् भने हालमा उनी सञ्चार विशेषज्ञ तथा योजनाकारको रुपमा कार्यरत छन् जसको काम बेलायतभन्दा बाहिर मुलुकमा रहेका बृटिश आर्मी तथा उनका परिवारलाई संचारको सुविधा प्रदान गर्नु रहेको थियो । लेफ्टेनेन्ट कर्नेलमा पदोन्नति भएपश्चात् उनले बेलायतस्थित तिथवोर्ड ग्यारिजनको डेपुटी कमान्डरको कार्यभार पुरा गरेर सन् २०२२ सेप्टेम्बरमा बृटिश आर्मिवाट अवकाश प्राप्त गरेका थिए।
खाम्चा मगर संसारका बिभिन्न मुलुकहरुको भ्रमण गरिसकेका छ। जस्तै: नेपाल, भारत, बेलायत, अमेरिका, हंगकंग, ब्रुनाई, सिंगापुर, थाइल्याण्ड, मलेसिया, फिजी, कतार, इराक, दुवाई, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, साइप्रस, केन्या, बेलिज, बोजनिया, फ्रान्स, स्पेन, बेल्जियम, हल्याण्डलगायत युरोपका बिभिन्न मुलुकहरु तथा संसारका थुप्रै देशहरुको भ्रमण गरिसकेका छन।
लेफ्टेनेन्ट कर्नेल तोल बहादुर खाम्चाका श्रीमतीका नाम लिला खाम्चा हो भने छोरीहरु रोजिना, अर्चना, र छोरा प्रज्वल हुन् । उनको अनुशासन, लगनशील, कर्तव्यनिष्ठ तथा असल वानी र ब्याबहार देखेर धेरैले छोरी दिन आएका भए तापनि अन्त्यमा उनले श्रीमती लिला खाम्चालाई मागी विवाह गरेका थिए । शालीनता, इमान्दारिता, सबै उमेरका व्यक्तिहरुसँग सजिलै घुलमिल गर्न सक्ने खाम्चा मगरको विशेषता हो भने फुर्सदको समयमा उनी गल्फ खेल्न र दौडिन मन पराउँछन् ।


