लन्डन ९ जनवरी २०२५ । बेलायतको The Home of the British Army भनेर चिनिने अल्डरसट शहरमा पुरन गिरीको समुह तथा कम्पनि पीआरएन इन्भेस्टमेन्ट लिमिटेडले १० मिलियन पाउन्डमा भिक्टोरिया हाउस गत शुक्रवार खरिद गरेको छ । उक्त समुह तथा कम्पनि पुरन गिरी, नारायण गिरी र राजकुमार गुरुङले संचालन गर्दै आएका छन्।
नौ तले भिक्टोरिया हाउसमा ९२ वटा बिजनेस युनिट रहेको छ भने ५०० वटा कार पार्किङ गर्न सकिन्छ। भिक्टोरिया हाउसको ग्राउण्ड फ्लोर र फस्ट फ्लोरलाई विलिङ्टन सपिङ्सेन्टर भनिन्छ। निकट भविष्यमा ग्राउण्ड फ्लोरलाई भाटभटेनी सुपर मार्केटको मोडालिटिमा लैजाने लक्ष्य राखिएको छ भने फस्ट फ्लोरलाई Continental Food and Bar सहित १५०० जना पाहुनाहरुलाई सत्कार गर्न सकिने पार्टी प्यालेस बनाउने योजना रहेको छ।
पार्टी प्यालेस र सुपर मार्केट बाहेक अन्य सम्पूर्ण युनिटहरु भाडमा लगाउने योजना रहेको छ । उक्त युनिटहरुबाट वार्षिक भाडा २. ५ मिलियन स्टर्लिङ पाउण्ड आम्दानि हुने छ भने सम्पूर्ण खर्च कटाएर १. ५ मिलियन पाउण्ड नेट नाफा रहने कम्पनीका प्रवन्ध निर्देशक पुरन गिरीले बताएका छन्।
पीआरएन इन्भेस्टमेन्ट लिमिटेडले विलिङ्टन सपिङ्सेन्टरमा रहेको विकिन्सन युनिटलाई १ सय ४० वर्षको लिजमा लिइएको हो भने भिक्टोरिया हाउसको सम्पूर्ण युनिटलगायत युनियन स्ट्रिटमा ६ वटा प्रोपर्टी फ्रि-होल्डमा खरिद गरेको हो ।
विलिङ्टन सपिङ्सेन्टरमा नेसनवाइड बैंक, पोस्ट अफिस, म्याकडोनाल्डस, सबवे, जेडी स्पोर्टस्, पिककक, बुट्स, जिमखाना, स्पेकसेभरलगायत अन्य बिभिन्न सपहरु संचालनमा रहेका छन् ।
आफ्नो कम्पनीले खरिद गरेको यो प्रपर्टी आफ्नो व्यक्तिगत लाभमा मात्र नभई बेलायतको सिङ्गो नेपाली समुदायकै प्रतिष्ठा र गौरवको विषय बनोस् भन्ने चाहना प्रवन्ध निर्देशक गिरीको रहेको छ ।
पीआरएन इन्भेस्टमेन्ट लिमिटेडले सन् २०१५ मा सोही स्थान अल्डरसटमै रहेको प्रतिष्ठित एम्पायर हल र सन् २०२२ देखि सुसी-मोटो पनि सञ्चालन गर्दै आएको छ ।







