प्रस्तुति: चिम्खोले काईला
बेलायतमा स्थापित संघ-संस्थाहरुमा चलायमान, अर्काको खुशीमा रमाउने र दुख परेको व्यक्ति अथवा संघ-संस्थालाई सदैब सहयोग गर्न अग्रसर हुने बरिष्ठ समाजसेवी तथा तमु धिं युकेको संस्थापक उपाध्यक्ष हुन् डेबिड गुरुङ। त्यस्तै गुरुङ गैर आबसीय नेपाली संघ युके, स्यांग्जा समाज युके, सोपाल समाज युके र तमु धिं युके लन्डन इकाईको संरक्षक हुन भने हिन्दु महासंघ युके, सहारा युके र लन्डन नेपाल डटकमको सल्लाहकारलगायत बिभिन्न संघ-संस्थाहरुमा आबद्ध छन् ।
डेबिड गुरुङको जन्म पिता पुर्बप्रधान पन्च लाल बहादुर गुरुङ र माता उजेली गुरुङको कोखबाट साईला छोराको रुपमा आँधिखोला गाउँपालिका वडा नम्बर १ शिरुबारीमा सन् १९६० सालमा भएको थियो। उनको वाल्यकाल शिरुवारी मै बितेको थियो भने प्राराम्भिक शिक्षा पनि श्री त्रिसहिद माध्यामिक बिद्यालय पन्चमुल शिरुवारीमा नै शुरु गरेका थिए।
गुरुङले त्रिसहिद माध्यामिक बिद्यालयबाट कक्षा ८ उतिर्ण गरेपछि श्री सर्बोदय माध्यामिक बिद्यालयमा कक्षा ९ मा भर्ना भएका थिए। उनले श्री सर्बोदय माध्यामिक बिद्यालयबाट सन् १९७८ सालमा प्रवेशिका परिक्षा उतिर्ण गरेका थिए।
डेबिड गुरुङ प्रवेशिका परिक्षा उतिर्ण गरे पश्च्यात बाबा लाल बहादुर गुरुङको पाइला पछ्याउदै सन् १९७८ मा रुपन्देही जिल्लाको पक्लिहवामा बृटिश आर्मीमा आबद्ध भएका थिए। उनले ब्रिटिश आर्मीको आधारभूत तालिम हंगकंगको सेकोङस्थित मलाया लाइन्समा लिएका थिए। गुरुङले बृटिश आर्मीको आधारभूत तालिम उतिर्ण गरेपछि ६ गोर्खा राइफल्समा आबद्ध हुन बेलायत प्रस्थान गरेका थिए।
गुरुङ बेलायत आए पश्च्यात ६ गोर्खा राईफल्सको आल्फा (ए) कम्पनीमा आबद्ध भएका थिए। उनले केहि समय ६ गोर्खा राईफल्सको ए कम्पनीमा सेवा गरे पश्च्यात हेडक्वाटर कम्पनीको सिग्नल पलाटुनमा आबद्ध भएका थिए। सन् १९८२ सालमा २/७ (सेकेन्ड सेभेन) गोर्खा राईफल्स स्थापना हुने भएपछी गुरुङ सेकेन्ड सेभेन गोर्खा राईफल्समा आबद्ध भएका थिए। गुरुङ सेकेन्ड सेभेन गोर्खा राईफल्समा कार्यरत रहदा जुनियर लिडर काडर गरेका थिए। उनि जुनियर लिडर काडरमा उत्कृष्ट नतिजा लिएर प्रथम स्थान ओगट्न सफल भएका थिए।
सन् १९८५ मा सेकेन्ड सेभेन गोर्खा राइफल्स भंग हुने भएपछी गुरुङ पहिलाको अविभावक पल्टन तथा ६ गोर्खा राइफल्समा फर्केका थिए। डेबिड गुरुङ ६ गोर्खा राइफल्समा फर्कदा उनि कर्पोरल दर्जामा पदोन्नति भैसकेका थिए भने ६ गोर्खा राइफल्सका उनका नाम्बरिहरु भर्खरै लान्स कर्पोरलमा पदोन्नति भएका थिए।
कर्पोरल गुरुङ ६ गोर्खा राइफल्समा फर्केपछि सिग्नल क्लास वान कोर्स, रेगिमेनटल सिग्नल इनिसट्रक्टर कोर्स, वेपन ट्रेनिङ कोर्स, सेक्सन कमान्डर कोर्सलगायत बिभिन्न कोर्सहरु उतिर्ण गरेका थिए। गुरुङ ६ गोर्खा राइफल्समा कार्यरत रहदा उनि हाँसिलो, जोसिलो, फुर्तिलो, बलियो र कसैसंग पनि नडराउने निडर व्यक्तित्व थिए। उनि बटालियनमा हुने हरेक क्रियाकलापहरु जस्तो: बास्केटबल, भलिबल, फुटबल र स्की जस्ता खेलहरुमा सहभागिता जनाउदथे। कर्पोरल गुरुङ अस्ट्रियामा भएको स्की प्रतियोगितामा ब्रोन्ज मेडल प्राप्त गर्न सफल भएका थिए।
कर्पोरल गुरुङ सन् १९९४ मा अवकाश प्राप्त गरेपछि सन् १९९५ मा बेलायत आएका थिए। बेलायतमा रहदा गुरुङले सयौंको संख्यामा दुखमा परेका नेपालीहरुलाई गासबास कपासको ब्यबस्था तथा रोजगारको व्यवस्था गरेका थिए भने ब्यापारी, समाजसेवी, राजनीतिककर्मीलगायत नेपाली तथा गैर नेपालीहरुलाई सल्लाह सुझाब तथा सहयोग गर्दै आएका छन्।
आँधिखोला गाउँपालिका वडा नम्बर १ शिरुबारीमा संचालनमा रहेको एम्बुलेन्स संचालन गर्ने र निर्माण भएको सामाजिक भवनको निर्माण परिकल्पनाकार डेबिड गुरुङ नै थिए भने बेलायतबाट प्रकाशित डाँफे पत्रिकाको प्रवन्ध निर्देशक थिए।
वरिष्ठ समाजसेवी डेबिड गुरुङ श्रीमती बिना माया गुरुङ, छोरीहरु, सृजना गुरुङ, श्रीष्टि गुरुङ, समिक्षा गुरुङ र छोरा पुकार गुरुङसंग बेलायतको ह्यारो भन्ने शहरमा बसोबास गर्दै आएका छन। उनले संसारका बिभिन्न मुलुकहरुको भ्रमण गरिसकेका छ। जस्तै: नेपाल, भारत, बेलायत, हंगकंग, ब्रुनाई, सिंगापुर, थाइल्याण्ड, अस्ट्रिया, मलेसिया, फिजी, कतार, दुवाई, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, साइप्रस, केन्या, बेलिज, बोजनिया, अफगानिस्थान, फ्रान्स, स्पेन, बेल्जियम, हल्याण्डलगायत यूरोपका थुप्रै देशहरुको भ्रमण गरिसकेका छन।
डेबिड गुरुङ फुर्सदको समयमा बिभिन्न सामाजिक संस्थाका कार्यक्रमहरुमा व्यस्त हुन्छन । बचेका समय श्रीमती, छोरीहरु, जवाईहरु, छोरा, बुहारी र ५ वटा नातीहरुसंग देश विदेशको भ्रमण गर्न रुचाउछन ।
स्मरण रहोस् डेबिड गुरुङले कोबिडको समयदेखि नेपालमा रहेका दीन दुखिका लागि हरेक महिनामा एकसय पाउण्ड उपलब्ध गराउदै आएका छन्।


